बुटवल – गएको शुक्रवार राति देवदहकी पाँच वर्षीया बालिकालाई बलत्कार गर्ने जीवन खत्री मात्र रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।
देवदह नगरपालिका वडा नम्बर– ७ बस्ने १७ वर्षीय जीवन खत्री रहेको प्रहरीले जानकारी दिएको हो । इलाका प्रहरी कार्यालय, बुटवलले आइतबार पत्रकार सम्मेलन गरी सामूहिक बलत्कार नदेखिएको र खत्रीले आफू घटनामा संलग्न भएको स्वीकार गरेको जानकारी गराएको हो ।
इप्रका बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले घटनामा अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिइए पनि खत्रीको मात्रै संलग्नता देखिएको बताए । मल्लले भने, ‘उनलाई अहिले जबरजस्तीकरणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।’
खत्रीले पीडित बालिका घरमा एक्लै खलिरहेको अवस्थामा फकाएर देवदह वडा ५ सिद्धार्थ कोलनीस्थित खुल्ला टहरोमा लगेर जबरजस्तीकरणी गरेको अनुसन्धानबाट खुलेको छ ।
पीडित बालिकाको अहिले बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । खत्रीलाई दाउन्नेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।