
काठमाडौं — दक्षिण अफ्रिकाको जोहानेसबर्गमा लाश गाड्नका लागि चिहानको कमी देखिएको छ । त्यसैले धेरै मानिस अन्तिम संस्कारका लागि पुरानै चिहानलाई फेरि खनिरहेका छन् ।
हरेक हप्ता शहरमा ५० देखि ६० पुराना चिहान खनिइरहेका छन् । ती चिहानमा पहिल्यै गाडिएका शवमाथि अर्को शव राखिने भएको छ ।
जोहानेसबर्ग दक्षिण अफ्रिकाको आर्थिक केन्द्र हो । त्यहाँ बढ्दो जनसंख्या र विदेशीहरूको उपस्थितिका कारण शहरी क्षेत्रमा निकै बोझ परेको छ । अधिकारीहरूका अनुसार, जनसंख्यामा नियन्त्रण नगरिएमा आगामी ५० वर्षमा लाश गाड्ने ठाउँ नै बाँकी रहनेछैन ।
शहरमा चिहानहरूको व्यवस्थापन गर्ने विभागका म्यानेजर रेजी मोलोइका अनुसार, चिहानका लागि खुला ठाउँ धमाधम सकिएका छन् ।
त्यसो त जोहानेसबर्गमा मात्र यस्तो समस्या आएको हैन । डर्बनमा पनि यस्तै समस्यामा तीन दशकअघि परेको थियो । त्यतिखेर एचआईभी एड्सबाट मर्नेहरूको संख्या बढ्दा अनि राजनीतिक हिंसा चर्किंदा लाश थुप्रिएका थिए ।
दक्षिण अफ्रिकाको कब्रिस्तान संघका अध्यक्ष डेनिस इंगका अनुसार, लाश गाड्ने ठाउँ सकिएकाले पुरानो चिहानलाई फेरि प्रयोग गर्ने कि लाश जलाउने हो मानिसहरूले निर्णय लिनुपर्ने बताए ।
तर क्रिस्चियन समुदायमा शव जलाउनुलाई अप्राकृतिक र अपरम्परागत मानिन्छ ।
लाशमा आगो लगाउनु नरकको आगोमा जल्नु बराबर भएको त्यहाँका मानिसको धारणा छ । परम्परावादीहरू पूर्ण शरीरका साथ भगवानकहाँ पुग्नुपर्ने, खरानीका रूपमा हैन भन्ने मान्यता राख्छन् ।
सरकारले कब्रिस्तान बनाउनका लागि जमीन अधिग्रहण गर्ने कानून प्रस्ताव गर्न लागेको बताइएको छ ।
एजेन्सी