
काठमाडौं– धितोपत्र बजार सुधारको माग गर्दै नेपाल स्टक एक्सचेन्जको कार्यालयमा लगानीकर्ताले तीन दिनदेखि धर्ना दिइरहेका छन् । गत आइतवारदेखि रिले अनसनमा बसेका लगानीकर्ताहरुले मंगलबार पनि आफ्नो विरोध कायमै राखेका हुन् । उनीहरुले देशको आर्थिक विकासको प्रतिविम्वका रुपमा रहेको शेयर बजारलाई सरकारले व्यवस्थित बनाउनु पर्ने माग राखेका छन् ।
लगानीकर्ताले धर्ना कायमै राखेका बेला नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले लगानीकर्ताको आफ्नै स्वार्थका कारण शेयर बजारम गिरावट आएको प्रतिक्रिया दिएका छन् । गभर्नर नेपालले शेयर बजार काठमाडौं उपत्यका भित्रै सीमित हुनु र लगानीकर्ताहरुले आफ्नो मात्रै स्वार्थ देखेका कारण शेयर बजारमा सुधार आउन नसकेको बताए ।
काठमाडौं उपत्यका बाहिर शेयरको बारेमा जनचेतना फैलाउनु पर्ने र लगानीकर्ताले अरुहरुलाई समेत शेयरमा सहभागी गराउनका लागि वातावरण बनाउनु पर्ने गभर्नर नेपालको भनाइ थियो । उनले लगानीकर्ताहरुले मात्रै शेयर किन्न थालेपछि अरुले शेयर नपाएको समेत बताए ।
‘जनतामा शेयरका बारेमा जनचेतना नभएका कारण केही सिमति व्यक्तिले मात्रै शेयरको कारोबार गरेर शेयरको सँख्या बढ्दैन’ उनले भने, ‘शेयर किन्नका लागि अरुहरुलाई पनि यसमा सहभागी गराउनु पर्यो ।’
एउटा मात्रै व्यक्तिले धेरै शेयर किन्न नसक्ने र त्यसका लागि अरुहरुलाई जनचेताना फैलाउनु पर्ने उनको भनाई थियो । ‘एउटा मात्रै व्यक्तिले कति शेयर किन्न सक्छ र ? उसले भएजतिको पैसाको त शेयर किनिसकेको छ नि’ उनले थपे, ‘अरु किन्नको लागि त अरु मान्छे आउनु पर्यो ।’
अरु मान्छे शेयरमा आउनका लागि वित्तीय साक्षरता, शेयर सम्बन्धि जनचेताना हुनु पर्ने उनले बताए ।
‘यहाँ हामीले आफैं मात्रै शेयर किन्यौ, अरुलाई किन्न दिएनौं र उपत्यका बाहिर विस्तार हुने कुरै भएन । विस्तार भयो भने बर्बादै हुन्छ भन्ने मनस्थिति छ,’ उनले भने, ‘शेयर लगानीकर्ता, तपार्इंहरु प्रचार गर्नुस्, आफुसँग भएका शेयर अरुलाई दिनुस् । अहिले घट्न लागेको छ । मेरो शेयर खरिद गर भनेर भन्नुस् ।’
त्यसका लागि आफैंबाट सुरुवात गर्न समेत लगानीकर्ता संघका अध्यक्ष अम्बिका पौडेललाई गभर्नर नेपालले आग्रह गरे । ‘अरुबाट किन किन्ने मैबाट किन भनेर भन्नुस् । अम्बिकाजीबाटै सुरु गरे हुन्छ,’ उनले भने, ‘यसरी शेयरको कारोबार विस्तारै छरिँदै जान्छ र सँख्या बढदै जान्छ ।’
लगानीकर्ता संघका अध्यक्ष अम्बिका पौडेलले नेपालको पूँजीबजार विगत साढे दुई वर्षदेखि निन्तर घटिरहेको बताए । आफुहरुले यसअघि पनि पटक पटक नियामक निकायमा बजार घट्नुका कारण र आगामाी दिनमा समेत देखिने समस्याका बारेमा अवगत गराएको तर, सम्बन्धित निकायहरुले आफ्ना समस्याप्रति गम्भीर नभएका कारण अहिले यो अवस्था आएको पौडेलको भनाइ थियो ।