२७ जेठ २०८३, बुधबार

ट्याक्सी चालकको जरिवाना अभिलेख राख्न शुरु, ५ पटक नियम उल्लंघन गर्नेको अनुमतिपत्र नै निलम्बन

मंसिर २६, २०७५
ट्याक्सी चालकको जरिवाना अभिलेख राख्न शुरु, ५ पटक नियम उल्लंघन गर्नेको अनुमतिपत्र नै निलम्बन

काठमाडौँ– ट्याक्सी चालकको लापरवाही नियन्त्रणका लागि प्रहरीले चालक अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारवाही थालेको छ । नियम उल्लङ्घन गर्ने ट्याक्सी चालकको अभिलेख राख्न शुरु गरिएको र पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभागसँगको समन्वयमा उक्त अभियान शुरु गरिएको हो । मुख्यगरी मिटरमा जान नमान्ने, बढी भाडा लिने, खाली भएर पनि जान नमान्ने, मिटर बिगार्ने, बिग्रिएको मिटर नबनाउने र यात्रुको गन्तव्यमा नजाने ट्याक्सी चालक बढी छन् । उनीहरूलाई सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । 

“मङ्सिर २० गतेदेखि ट्याक्सी चालकलाई कारवाही शुरु गरेका छौँ”, प्रवक्ता सापकोटाले भने, “पाँचपटक कारवाहीमा पर्यो भने अनुमतिपत्र निलम्बन हुन्छ ।” उक्त अभियानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५० भन्दा बढी ट्राफिक प्रहरीलाई सादा पोशाकमा खटाइएको छ । पहिचान हुने बित्तिकै उनीहरूलाई महाशाखामा ल्याइने, रु तीन हजार जरिवाना तिराइने र उनीहरूको अभिलेख राखिनेछ । लगातार पाँच पटकसम्म रु तीन हजारका दरले जरिवाना लाग्ने र त्यसपछि नियम उल्लङ्घन गरेको पाइए अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिश गरिने सापकोटाले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्