१७ असार २०८३, बुधबार

विवाह पञ्चमीमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुरमा, आज सीताराम स्वयम्बर

मंसिर २६, २०७५
विवाह पञ्चमीमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुरमा, आज सीताराम स्वयम्बर

जनकपुरधाम – सीताराम विवाह पञ्चमीमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम पुगेका छन् ।

निजी हेलिकप्टरबाट मुख्यमन्त्री योगी जनकपुर पुगेका हुन् । विवाहपञ्चमी अन्तर्गत बुधवार सीताराम स्वयम्बर हुँदैछ ।

जनकपुर पुगेका योगीले शुरूमा जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । त्यसपछि योगी प्रदेश सरकारको आयोजनामा मधेश भवनमा हुने दिवाभोजमा सहभागी हुनेछन् ।

रंगभूमि मैदान बारहबिघामा हुने स्वयम्बर कार्यक्रममा समेत मुख्यमन्त्री योगी सहभागी हुनेछन् । योगीको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ भने जानकी मन्दिरमा सर्वसाधारण भक्तजनलाई प्रवेश निषेध गरिएको छ ।

योगीको स्वागतका लागि प्रदेश सरकार र जानकी मन्दिरले भव्य तयारी गरेको छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएपछि भव्य तयारी भइरहेको छ ।

योगीसँगै मञ्चमा बस्न नेताहरुको हानथाप

रंगभूमि मैदानमा हुने स्वयम्वर अवलोकन गर्न पुग्ने योगीसहितका विशिष्ट अतिथीका लागि जानकी मन्दिरले विशेष मञ्च नै निर्माण गरिसकेको छ । आदित्यनाथको आसन ग्रहण हुने मञ्चमा बस्नकै लागि नेतादेखि प्रदेश सरकारका मन्त्रीहरूबीच हानथाप नै हुने भएको छ । 

बुधवार योगी आदित्यनाथ बिहान १० बजेतिर विमान चार्टर गरेर जनकपुरधाम आउँदैछन् । बिमानस्थलमा उनलाई २ नम्बर प्रदेशका मुख्यमन्त्री लाल बाबु राउतको नेतृत्वमा प्रदेश सरकारका ६ जनै मन्त्रीहरू, ६ जना राज्य मन्त्रीहरू, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देब लगायतले स्वागत गर्ने कार्यक्रम तय गरिएको प्रदेश सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले लोकान्तरलाई जानकारी दिए ।

यसका अतिरिक्त योगिलाई विमानस्थलमै स्वागत गर्न जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव, सुरक्षा निकायका पदाधिकारीहरू समेतको छुट्टै टोली पनि पुग्नेछ ।

योगी विमानस्थलबाट जानकी मन्दिरमा पुगेर पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवका अनुसार योगीले आधा घण्टा जति समय दिए षोडशोपचार विधीसहित पूजा गर्ने तयारी गरिएको छ ।

पूजा गरि सके पछि योगी आदित्यनाथ प्रदेश सरकारले आयोजना गरेको भण्डारामा सहभागी हुन् मधेस भवन पुग्नेछन् । त्यहाँ प्रदेश सरकारले योगी आदित्यनाथसँगै जन्तीका रूपमा आउने सबै साधु सन्त, प्रदेश सरकारका मन्त्रीदेखि कर्मचारी लगायतले भोजन गर्नेछन् । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले दिएको जानकारीअनुसार योगीसहित सम्पूर्ण जन्तीलाई आशनमा बसाएर भण्डारामा भोजन गराउने प्रबन्ध मिलाएको छ ।

यसअघि त्यहाँ हुने कुनै पनि भोज् भतेरमा आफैं थाल लिएर खाना लिने र कुर्सीमा बसेर वा उभिएर खाना खाने प्रचलन रहेको थियो । तर, यस पटक जन्तीहरूलाई आसनमा बसाएर खाना परोसेर नै खुवाउने ब्यबस्था गरिएको छ ।

जन्तीका लागि ३६ परिकारको व्यन्जन  

विभाह पञ्चमीमा आउने आदित्यनाथसहित सम्पूर्ण जन्तीलाई ३६ परिकारको व्यन्जन खुवाईने मन्त्री यादवले बताए । उनका अनुसार राईस जिरा, दाल फ्राइ, मटर पनिर, मिक्स भेज, काउली फ्राइ, कचौरी/पालक पुरी, सादा रोटी, खिर, गाजर हलुवा, सुजी हलुवा, अमिति, बुनिया, पेडा, काला जामून, ३ प्रकारको रसवरी, तछुवा (पकौडा), नेपाली अचार, राइता, पापड, सलाद, दही, राजभोग, बदाम कतली, काजु कतली, मुङ दालको हलुवा, लालमोहन, बदाम रोल, गुलाव जामुन, क्रिम जेरी, मटर पनिर, मलाइ कोपता, बेसन गांता सब्जी र कोभी मटर सब्जीको परिकार पस्किइनेछ । 

मधेस भवनमा ग्रहण गरेपछि योगी आदित्यनाथले केही समय आराम गर्ने तथा मुख्यमन्त्री राउतसँग अनौपचारिक कुराकानी गर्न सक्ने कार्यक्रम रहेको छ । त्यसपछि रंगभूमि मैदान ९बाह्र बिघा०मा जानकी मन्दिरले आयोजना गर्ने सीता स्वयम्वर कार्यक्रममा सहभागी भइ सीता स्वयम्वर अबलोकन गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले बताए । उक्त कार्यक्रमका लागि मञ्च समेत बनाइएको छ ।

उक्त कार्यक्रममा संघीय सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसमेत सहभागी हुनेछन् । अधिकारी मंगलवार नै जनकपुरधाम पुगिसकेका छन् । 

आदित्यनाथ बस्ने मञ्चमा बस्न मारामार

सीता स्वयम्वर अबलोकनका लागि बनाइको मञ्चमा बस्न प्रदेश तहका नेतादेखि मन्त्रीबीच प्रतिस्पर्धा देखिएको छ । मञ्चमा बढीमा ४० जनाजति अतिथीलाई शासन ग्रहण गराइने छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले मञ्चको प्राविधिक क्षमताअनुसार अतिथीलाई आसन ग्रहण गराइने बताए । 

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले लोकान्तरसंग भने, ‘प्रदेश सरकारको मुख्यमन्त्री, ६ जना मन्त्रीहरू, ६ जना राज्यमन्त्रीहरू, योगी आदित्यनाथसंगै आउने एक जना उत्तर प्रदेशका मन्त्री, उपमहानगरका मेयर, सभामुख, उपसभामुख, राजपाका संयोजक राजेन्द्र महतो, बरिष्ठ नेताका रूपमा महन्थ ठाकुर, संघीय सरकारका मन्त्री रबिन्द्र अधिकारी, नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, २ जना महन्थहरू गरी कुल ३० जना सम्म बस्ने व्यवस्था गरिएको छ ।’

मञ्च अगाडी भिआईपीका लागि भन्दै १ हजार जति कुर्सिको ब्यबस्था गरिएको प्रजिअ कणेलले जानकारी दिए । योगी बस्ने मञ्चमा आफूहरुलाई पनि आसन ग्रहण गराइयोस् भन्दै धेरै प्रतिनिधिसभाका सांसददेखि नेताहरू प्रमुख जिल्ला अधिकारी र जानकी मन्दिरका महन्थकहाँ धाइरहेका छन् । मञ्चमा प्रदेश सरकारका सबै मन्त्री र राज्यमन्त्रीहरुको आसन ग्रहण हुने विषयलाई लिएर कतिपयले विरोध पनि जनाइरहेका छन् । 

मुख्यमन्त्री र एकजना मन्त्रीमात्रै सहभागी हुनुपर्ने कार्यक्रममा पुरै प्रदेश सरकार नै ‘योगीको शरण’मा पर्न गएजसरी मञ्चमा शासन ओगट्नु जानु शोभनीय नभएको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ ।  

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा प्रदेश सरकारका मन्त्री जितेन्द्र सोनालले उदघोषककै काम गर्दा आलोचना भएको थियो । उक्त मन्चमा पनि योगी आउनु अघि फोरम र राजपाका सांसदहरूबीच आसन ग्रहणको विषयलाई लिएर हानथाप नै भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्