
सुर्खेत – कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेश सरकार उद्योगको विकासका लागि तयार रहेको बताएका छन् ।
बुधवार सुर्खेतको वीरेन्द्रनगरमा आधुनिक प्रविधियुक्त ‘टिपटप लण्ड्री एण्ड ड्राइक्लिन हाउस’को उद्घाटन गर्दै उनले सरकारले उद्योगधन्दा खोल्नका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।
‘हामीले ठूला–ठूला उद्योग खोल्न र सञ्चालनमा ल्याउन लगानीकर्तालाई आग्रह गरेका छौं,’ मन्त्री बुढाले भने, ‘त्यसका लागि सरकार लगानीमैत्री वातावरण बनाउन तयार छ ।’ उनले कर्णालीमा उद्योग खोलेको खण्डमा १० वर्षसम्म कर छुट गर्नेजस्ता कार्यक्रम गर्न प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेको जानकारी दिए ।
उनले कर्णालीको विकासका लागि सबै क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउँदै त्यसका लागि मन्त्रालयले खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको बताए ।
झण्डै २० लाख लगानीमा वीरेन्द्रनगर–४ भैरवस्थानमा सञ्चाललमा ल्याइएको लण्ड्रीको बुधबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री नन्दसिंह बुढाले उद्घाटन गरेका हुन् ।
कर्णाली प्रदेशमै पहिलो अत्याधुनिक प्रविधियुक्त टिपटप लण्ड्री एण्ड ड्राइक्लीन हाउसमा अस्पताल, होटल, होस्टेल र क्वाटरका सबै प्रकारका कपडा धुलाई, ड्राइक्लिन, कलरका साथै स्टिम आइरनको सेवा लिन सकिने छ ।
सञ्चालकका अनुसार कोट, पाइन्ट, सर्ट, सुट, ज्याकेट, लेदर ज्याकेट, तन्ना, कुर्थासलवार, गलैचा, सोफा कभर, सिट कभर, पर्दा तथा जिन्स र अन्य सबै खाले कपडा धुने सेवा पाइनेछ ।
लण्ड्री हाउस सञ्चालनमा आएसँगै ७ जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् । केही दिनभित्रै वीरेन्द्रनगर– ६ बुद्धपथमा कपडा संकलन तथा वितरणका लागि काउन्टर खोलिने बताइएको छ । लण्ड्री एण्ड ड्राइक्लिन हाउसले अस्पताल, होस्टेल र होटलका लागि निःशुल्क घरसम्मै पुर्याउने सेवा दिनेछ ।