
काठमाडौं–मंसिर २९ देखि सुरु हुने नेपाली काँग्रेसको महासमिति बैठकको कार्यतालिका सार्वजनिक भएको छ ।
सार्वजनिक कार्यतालिका अनुसार मंसिर १८ गते नै पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह २ देखि ५ बजेसम्म प्रतिनिधिहरुको दर्ता तथा स्वागत कार्यक्रम राखिएको छ ।
यस्तै मंसिर १९ गते बिहान ११ बजे गयम्बर पार्टी प्यालेसमा बैठकको औपचारिक उद्घाटन हुनेछ ।
पार्टी कार्यालयका सचिव कृष्ण प्रसाद पौडेलका अनुसार उद्घाटन समारोह समापन लगतै सोही पार्टी प्यालेसमा बन्द सत्र प्रारम्भ हुने छ । उनका अनुसार बन्दसत्र पुस १, २ र ३ गतेसम्म चल्नेछ । बन्दसत्रमा पार्टीको रणनीति, संशोधित विधान लगायतका विषयमा छलफल हुने छ ।
यसैबीच कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रह्यो ।
मंसिर ९ गतेदेखि चलेको आजको बैठकमा राजनीतिक प्रस्ताव र महामन्त्री प्रतिवेदन माथि छलफल भएको थियो ।
आजको बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, डा रामशरण महत, महेश आचार्य, प्रदीप गिरी, डा मिनेन्द्र रिजाल, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, डा चन्द्र भण्डारी, रामकृष्ण यादव, रमेश लेखक र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा राखेका छन् । राजनीतिक प्रस्ताव माथि धारणा व्यक्त गर्ने क्रम जारी रहेकाले बैठक बिहिबार पनि बस्नेछ ।