
बाजुरा–बाजुरामा हिमपात र वर्षा भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा हिमपात शुरु भएको हो । हिमपातसँगै तल्लोक्षत्र तिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
अत्याधिक चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीयवासी वुद्धि बोगटीले बताए । चिसोका कारण जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकालगायत सदरमुकाम मार्तडी र आसपासका स्थानीय बजार आङ्शिक बन्द छन् ।
हिमाली क्षेत्रमा भारी हिमपातले बाहिर निस्कनसमेत समस्या भइरहेको स्थानीयवासी प्रेम सार्कीले जानकारी दिए । चिसो छल्न बेसी झरेकालाई पनि दिनभर बढेको चिसोले समस्या परेको छ । चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् ।
आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुशी भएका छन् । अहिले बाजुराको तापक्रम ६ डिग्री तल झरेको छ ।