
काठमाडौं — मान्छेको मासु खाएको आरोप लागेका दुई दक्षिण अफ्रिकी पुरुषलाई बुधवार जन्मकैदको सजाय दिइएको छ । उनीहरू जघन्य अपराधमा दोषी रहेको न्यायाधीशले बताए ।
न्यायाधीश पिटर ओल्सनले निनो म्बाथा र लुंगीसानी मागुबानेलाई जन्मकैदको सजाय सुनाएका हुन् । उनीहरूले अघिल्लो वर्ष जानेले ह्लात्श्वायोलाई मारेर खाएको विटनेस पत्रिकाले लेख्यो ।
म्बाथा झाँक्री हुन् र उनलाई एस्टकोर्ट नामक शहरको प्रहरी चौकीमा आत्मसमर्पण गरेपछि पक्राउ गरिएको थियो । उनले झोलामा मान्छेको एक गोडा र एक हात बोकेका थिए । आफू मान्छेको मासु खाँदा खाँदा वाक्क भएको उनले बताए ।
प्रहरीले शुरूमा त उनको कुरा पत्याएन । तर उनले प्रहरीलाई एक घरमा लगे । त्यहाँ मान्छेका शरीरका अंगहरू छरिएका थिए ।
ह्लात्श्वायो नामक २४ वर्षीया महिलालाई उनको शरीरको अंगका लागि हत्या गरिएको स्थानीय मिडियाले लेख्यो । यस घटनामा सातजना संलग्न रहेको देखिएपनि दुईजनालाई दोषी ठहर गरियो ।
एस्टकोर्टको अदालतमा सुनुवाइ चल्दै गर्दा क्रुद्ध स्थानीयहरू बाहिर भेला भएर यो जघन्य हत्याको विरोध गरिरहेका थिए ।
दक्षिण अफ्रिकामा मानवभक्षण सम्बन्धी कुनै प्रत्यक्ष कानून छैन । तर लाशलाई क्षतविक्षत पार्नु र मानव कोशिका बोक्नु फौजदारी कसूर हो ।
एजेन्सी