
काठमाडौं — फ्रान्सेली प्रहरीले स्ट्रासबूर्गको क्रिसमस बजारमा मंगलवार आक्रमण गर्ने आतंकवादीलाई मारेको त्यहाँका गृहमन्त्रीले जनाएका छन् ।
शेरिफ चेकात नाम गरेका ती आतंकवादीसँग एक प्रहरी इकाइको स्ट्रासबूर्ग सडकमा जम्काभेट हुँदा उनले गोली चलाए अनि प्रहरीको जवाफी कारवाहीमा मारिए ।
उनन्तीस वर्षीय चेकातविरुद्ध फ्रान्स र जर्मनीमा थुप्र्र्रै आपराधिक अभियोग थिए । उनी कारागारमा छँदा इस्लामी उग्रवादी बनेका थिए ।
गृहमन्त्री क्रिस्टोफ कास्टानेरका अनुसार, तीन प्रहरी अधिकारीहरूले चेकातको हुलियासँग मेल खाने एक व्यक्तिलाई बिहीवार राति ९ बजे रु डु लाजारेटमा देखेका थिए ।
प्रहरीले उनलाई रोक्न खोज्दा उनी फर्किए र गोली हाने । प्रहरी अधिकारीहरूले पनि गोली फर्काए र आक्रमणकारीलाई लडाए ।
चेकातलाई सयौं प्रहरी र सुरक्षाकर्मीहरूले खोजी गरिरहेका थिए ।
चेकातका मातापिता र दुई दाजुभाइसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्ट्रासबूर्गका मेयर रोलाँ रिएसले चेकातलाई सिध्याएपछि शहरवासीहरू अब सामान्य जीवनतर्फ फर्कन सक्ने बताए ।
चेकातले मंगलवारको आक्रमणमा तीनजनाको हत्या गरेका थिए ।
बीबीसीबाट