
विराटनगर – विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा छुरा हानेर छोराले बुवाको हत्या गरेका छन् ।
छोराको छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिहीबार राति साढे ९ बजे शशी मण्डल, जेठी पत्नीका छोरा २५ वर्षीय आकाश मिया मण्डल र कान्छी पत्नीका छोरा २२ वर्षीय चुनु मण्डलबीच घरायसी विवाद हुँदा चुनु मण्डलले धारिलो हतियार छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट गम्भीर घाइते मण्डललाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको थियो । छुरा प्रहारबाट सौतेनी दाजु आकाश मण्डल समेत घाइते भई सोही अस्पतालमा उपचार भइरहेको छ ।
छुरा प्रहार गर्ने मण्डललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।