
काठमाडौं — कुर्दिशहरूको नेतृत्वमा रहेका लडाकूले इस्लामिक स्टेटको कब्जामा रहेको अन्तिम शहरमा नियन्त्रण गरेको अभियन्ताहरूले जनाएका छन् ।
हाजिन शहरमा धेरै दिनको तीव्र लडाईंपश्चात् कुर्दिशहरूले आईएस आतंकवादीलाई हराएका हुन् । उक्त शहर पूर्वी सिरियामा इराकको सीमानजिक पर्छ र त्यो नै आइएसको अन्तिम किल्ला थियो । आईएसले नजिकैका केही गाउँमा भने कब्जा जमाइरहेकै छ ।
अमेरिकाको समर्थन रहेको सिरियन डेमोक्रेटिक फोर्सेसले हाजिनलाई नियन्त्रणमा राख्नका लागि तीन महिनादेखि लडाईं गरिरहेका थिए । हालैका हप्तामा उत्तरी सिरियाबाट थप सैनिक आएपछि लडाईं चर्किएको थियो ।
बेलायतमा रहेको सिरियन अब्जर्भेटोरी फर ह्युमन राइट्सले कुर्दिशहरू कडा लडाईंपछि शुक्रवार बिहान हाजिनमा नियन्त्रण जमाउन सफल भएको जनायो । अमेरिकाको नेतृत्वमा भएको हवाई आक्रमणको कभरमा लडाईं भएको थियो ।
उसका अनुसार, केही आईएस लडाकूहरू गाउँतिर भागेको र हाजिनवरिपरिका खेतमा अझै लडाईं चलिरहेको छ ।
उक्त क्षेत्रमा करीब १५ हजार मानिस बस्छन् जसमध्ये दुई हजारजना त आईएस लडाकू नै छन् । ती लडाकूले आत्मघाती आक्रमण र कुर्दिशविरुद्ध प्रत्याक्रमण जारी राखेका छन् । सयौं नागरिकहरू हालैका दिनमा उक्त क्षेत्रबाट भागेर
कुर्दिशहरू भएतिर पुगेका छन् ।
द गार्डियनबाट