
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने उनले बताए ।
यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो ।
स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ । बैठकमा सचिवालय बैठक प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण हुन सकेको छैन । शनिबार बस्ने बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पु¥याउनेछ ।
पोखिँदैछ असन्तुष्ट नेताहरूको आक्रोश
नेतृत्वको कार्यशैलीलाई लिएर पार्टीभित्रै आलोचना बढिरहेको समयमा स्थायी कमिटी बैठक बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा तय भएको बैठक तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गएको जेठ ३ गते पार्टी एकता भएपछिको तेस्रो बैठक हो ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम कारवाहीको समीक्षा, पार्टीको भातृ संगठनको पदाधिकारी चयन लगायत एजेण्डा तय भएका छन् । तर, असन्तुष्ट समूहका नेताहरु भने कडा रुपमा प्रस्तुत हुने तयारी गरेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी पद्धति विगारेको, संस्थागत निर्णय नगरी मनोमानी गरेको जस्ता आरोप असन्तुष्ट समूहले लगाउँदै आइरहेको छ ।
अध्यक्षद्वयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपाका चार प्रभावशाली नेताले अघिल्लो साता प्रधामनन्त्री निवास बालुवाटारमा आयोजना गरिएको सचिवालय बैठक बहिष्कार गरेका थिए । पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेता वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवाल बैठक बहिस्कार गरेका थिए । निर्धारित समयमा बैठक शुरु नभएको भन्दै आफूहरु बाहिरिएको नेताहरुले प्रतिक्रिया दिएका थिए । तर सरकारको कामकारवाही र पार्टी सञ्चालन प्रकृयामा रहेको असन्तुष्टि पोख्नका लागि बैठक बहिष्कार गरेको टिप्पणी ति नेताहरुमाथि भएको थियो ।
प्रदेश कमिटी गठनको विषयलाई लिएर असन्तुष्ट रहेका नेता नेपाल लगायतका सचिवालय सदस्यले बैठक बहिष्कार गर्ने सम्मको अवस्थामा पुगेका थिए । चार नेताले सचिवालय बैठक बहिष्कार गरेपछि बसेको बैठकले स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । असन्तुष्ट नेताहरुले शनिवार बस्ने स्थायी कमिटीको बैठकमा कडा रुपमा प्रस्तुत हुने संकेत गरेका छन् । पार्टी भित्र आन्तरिक लोकतन्त्र समाप्त भएको भन्दै भीम रावल, घनश्याम भुसाललगायतका नेताहरुले सार्वजनिक रुपमै विरोध गर्दै आएका छन् ।
राजधानीमा युनिफिकेसन चर्चले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र नेकपाका नेताहरुको सहभागितालाई लिएर पार्टीभित्रै र बाहिर पनि विरोध भएपछि उक्त विषयले पनि स्थायी कमिटीमा प्रवेश पाउने निश्चित छ । उसो त नेता भीम रावलले सार्वजनिक रुपमै उक्त कार्यक्रममा सरकारको सहभागितालाई लिएर आपत्ति जनाउँदै आएका छन् ।
नेता भीम रावालले स्थायी कमिटी बैठकमा सरकारको कार्यशैली, जनजीविका र राष्ट्रिय हितका विषयमा आफूले कुरा उठाउने बताए । ʻराष्ट्र र जनताको आधारभूत हित, गरिमा र स्वाभिमान तथा पार्टी र जनताको हितसँग सम्बन्धित संवेदनशील विषयमा पार्टी भित्र छलफल गर्ने अवस्था नबन्दा वा पार्टी नेतृत्वलाई त्यसको जानकारी गराउँदा पनि त्यसको सम्वोधन नहुँदा बाहिर बोल्ने गरेको छुʼ रावलले लोकान्तरसँग भने, ʻसार्वजनिक रुपमा बोलेका विषय र केही बाहिर नबोलेका कतिपय विषय, जो नेपाल र नेपाली जनताको सर्वोपरि हितसँग सम्बन्धित छन् निःशन्देह नै ती विषयमा स्थायी कमिटीमा कुरा राख्छु ।ʼ
कुल ४५ सदस्यीय स्थायी कमिटीमा तत्कालिन एमाले २६ र माओवादी केन्द्रबाट १९ सदस्य रहेका छन् । दुई पार्टीबीच एकता प्रकृयामा रहेको र महत्वपूर्ण विषयहरुको निर्णयका लागि पनि स्थायी कमिटीको बैठक नबोलाइएको भन्दै स्थायी कमिटीका अधिकांश सदस्यहरु पार्टी शीर्ष नेतृत्वसँग असन्तुष्ट थिए । नेताहरुको असन्तुष्टि यो बैठकमा देखिने प्रस्ट छ । दुई तिहाईको नेतृत्व गरेको सरकारको काम कारवाही र पार्टी नेतृत्वको कार्यशैलीका विषयमा नेतृत्वले स्थायी समितिका सदस्यहरुको सामना गर्नुपर्ने देखिएको छ ।