
काठमाडौं – कुनै पनि नेपाली गीतले यूट्यूबमा करोड भ्यूज पाउनु ठूलो सफलता हो । पछिल्लो समय चलचित्रका गीतले यूट्यूबमा त्यो सफलता हासिल गर्दै गएका छन् ।
तर लोकदोहोरी गीतका लागि करोड भ्यूज पाउनु अहिले पनि ठूलै युद्ध जित्नुसरह छ । दिनहुँ लोकदोहोरी गीत यूटयूबमा सार्वजनिक हुन्छन् र केही दिनमै हराउँछन् ।
करीब ३ महिनाअघि यूट्युबमा सार्वजनिक गीत ‘सालको पात टपरी’ हराएर जाने गीतको भीडभन्दा टाढा रह्यो ।
गीत रेडियो र टेलिभिजनमा सुन्ने र हेर्ने धेरै भए । धेरै चलेर गीत संगीतप्रेमीको मुखमा झुन्डियोे । लोकदोहोरी भनेपछि नाक खुम्च्याउनेहरूलाई पनि यो गीत प्रिय बन्यो ।
यूट्यूबकै कुरा गर्ने हो लोकदोहोरीको इतिहासमै सबैभन्दा बढी हेरिने गीत बन्यो । सार्वजनिक गीतले हालसम्म यूट्यूबमा १ करोड २१ लाख बढी भ्यूज पाएको छ । गायकगायिका, संगीतकार, रचनाकार, मोडल, निर्देशक लगायत सम्पूर्ण टीमलाई गीतले १ करोड बढी भ्यूज बटुल्नु ख्याल–ख्यालजस्तो भएको छ ।
नवराज पन्तको शब्द रचना रहेको गीतमा वसन्त थापाले संगीत भरेका छन् । गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीले श्वर दिएका छन् । शिव विकले निर्देशन गरेको भिडियोमा कुलेन्द्र र वसन्तसँगै अभिनेत्री मरिष्का पोखरेलले अभिनय गरेका छन् ।
गीतले पाएको सफलतामा दंग पर्दै संगीतकार वसन्त लोकान्तरसँग भन्छन्, ‘गीतमा निकै मेहनत गरेको हुनाले स्रोता दर्शकले रुचाउनुहुन्छ भन्ने थियो । तर यति धेरै चर्चा पाउला भन्ने चाहिँ लागेको थिएन ।’
यता कुलेन्द्र पनि गीतले पाएको चर्चाबाट दंग छन् । कुलेन्द्र भन्छन्, ‘गीतमा टिपिकल शब्द छन्, मेरो अरू गीतभन्दा यो गीत राम्रो बनेको थियो ।’ तर राम्रो गीतले करोड बढी भ्यूज पाउला भन्ने अपेक्षा कुलेन्द्रको पनि थिएन । अहिले जिल्ला–जिल्लामा भइरहेका मेला महोत्सवमा पुग्ने कुलेन्द्रबाट दर्शक स्रोताले शुरूमै यही गीत चाहन्छन् ।
अमेरिकामा रहेका रचनाकार नवराज पन्त गीत मौलिक रहेकाले दर्शक स्रोताले रुचाएको बताउँछन् । नवराजले यसअघि लेखेका गीतहरू पनि दर्शक स्रोताले रुचाएका थिए । ‘लोकदोहोरीमा हाम्रो आफ्नै मौलिकपन छ । यो गीत पनि मौलिक भएर स्रोता दर्शकले रुचाउनुभएको हो,’ उनी भन्छन् । आफूले थौरे गीत लेख्ने गरेको बताउँदै ‘सालको पात टपरी’लाई स्रोता दर्शकले रुचाउनुमा सबै पक्षको गतिलो मिश्रण भएको नवराज बताउँछन् ।
वसन्तको संगीत रहेको ‘उही खोलीको पानी’ बोलको गीत यूट्यूबमा १ करोड पटक हेरिएको पहिलो नेपाली लोकदोहोरी गीत बनेको थियो । अहिलेसम्म यो गीतलाई १ करोड ५ लाख बढी पटक हेरिसकिएको छ ।