काठमाडौं २२ फागुन–भारत सरकारको निमन्त्रणामा संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिका एक दर्जन सांसदले आइतवारदेखि भारतको भ्रमण गर्ने भएका छन् ।
समिति सभापति प्रभू साहको नेतृत्वमा १३ जना सांसद नयाँ दिल्ली हुदै भारतका विभिन्न स्थानमा जान लागेका हुन् । भ्रमण टोलीमा काग्रेसका ५, माओवादीका ३, एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपालका एक एक सांसद छन् । टोलीमा सांसदहरु अभिषेक प्रताप साह, जेबी टुहुरे, दुर्गा पौडेल लगायत छन ।
मेची–महाकाली अभियानका कारण एमालेका तर्फवाट चुडामणि विश्वकर्मा मात्र भ्रमण टोलीमा छन् । जीतेन्द्र देव, लालवावु यादव लगायतका सांसदले भ्रमण स्थगित गरेका छन् ।
संस्कृति पर्यटन मन्त्रालय समेत हेर्ने संसदीय समितिका सदस्यहरुको भ्रमण सांस्कृतिक र पर्यटकीय स्थलको अबलोकनमा केन्द्रीत रहने समिति स्रोतले जनायो ।
‘कुनैपनि राजनीतिक कार्यक्रम छैनन, भ्रमण नितान्त संस्कृति र पर्यटन क्षेत्रको अवलोकनमा केन्द्रीत रहनेछ’ भ्रमण टोलीका एमाले सदस्य विश्वकर्माले भने । संसदीय टोली दिल्लीका अतिरिक्त आग्रा, गुजरात र गोवाको भ्रमणमा जाने छ । संसदीय टोली मार्च १२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।