
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बसेको स्थायी कमिटी बैठकमा शीर्ष नेताहरूकै ‘परस्पर विरोधी’ दस्तावेज पेस भएका छन् । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको साझा राजनीतिक प्रतिवेदनमाथि सचिवालय सदस्य वामदेव गौतमले छुट्टै प्रस्ताव पेश गरेका छन् ।
अध्यक्षद्वयको प्रतिवेदनमा नेकपा नेतृत्वको सरकारको ९ महिने अवधिमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको विश्लेषणसहित आएपछि नेता गौतमको छुट्टै पुरक प्रस्ताव आएको हो । गौतमले अहिलेको तरिकाले सरकार चले त्यसले आगामी निर्वाचनमा नेकपालाई गम्भिर धक्का लाग्ने बताएका छन् । पार्टी स्थायी कमिटीमा आफ्नो तर्फबाट छुट्टै प्रतिवेदन पेश गर्दै नेता गौतमले दुईतिहाई बहुमतको सरकार आफैंलाई च्याप्न थालेको उल्लेख गरेका छन् ।
पार्टी र सरकारलाई गम्भिर ढंगले अगाडि बढाउन र सिंगो पार्टी पंक्तिको ध्यानकर्षणका लागि दस्तावेज पेश गरेको नेता गौतमले बताए । सरकारको गतिहिनता साथै पार्टीमा संगठनात्मक शुन्यताले ७ लाख पार्टी सदस्य शुभचिन्तकमा कुण्ठा, निराशा र हतोत्साह देखा पर्न थालेको नेता गौतमको भनाई छ । पार्टीले कार्यकर्तालाई अलपत्र पारेको गौतमको प्रतिवेदनमा छ ।
सरकारले आर्थिक बर्षको नीति, कार्यक्रम, बजेट प्रस्तुत गरेपछि चारैतिर निराशा छाउन थालेको गौतमको प्रतिवेदनमा छ । अहिलेसम्म सरकार र पार्टीका जिम्मेवार नेताहरुको गतिविधिले जनतामा निराशा झन बढाएको उनको भनाई छ । नेता गौतमले संसद, सडक, छापा, भाषण र बोलमा कतै पनि समाजका जिम्मेवार व्यक्तिबाट बचाउ नभएको भन्दै यस्तो अवस्था कसरी आयो भनेर प्रश्न उठाएका छन् । सांसदहरुले लोकप्रिय कार्यक्रम अगाडि सार्न दिएको सुझाव सरकारले नसुनेको गौतमको टिप्पणी छ ।
हेर्नुस् यस्ताे छ वामदेवकाे फरक मत