
काठमाडौं — हङकङको सबभन्दा गरीब बस्तीमध्ये एकमा शनिवार दिउँसो अचानक पैसाको वर्षा भएको छ ।
क्रिप्टोकरेन्सीको पक्षधर एक व्यक्तिले उक्त पैसा बर्साएको बताइएको छ ।
शाम शुइ पो जिल्लामा रहेको बस्तीमा रहस्यमयी तरिकाले पैसा बर्सिएपछि सयौं मानिस भेला भएका थिए ।
फुक वा सडकमा एउटा अग्लो भवनको छतबाट अनेकौं नोटहरू बर्सेपछि मानिसहरू पैसा लिन तँछाडमछाड गरिरहेको भिडियो सार्वजनिक भएको छ । केही मानिस त अरूको भन्दा धेर पैसा पाइने आशामा छतमा समेत चढेका थिए ।
सार्वजनिक व्यवस्था कायम राख्नका लागि प्रहरी घटनास्थलमा तत्कालै पुगेको थियो । उसले पाँच हजार हङकङ डलर बरामद गरेपछि मानिसहरूलाई पैसा फिर्ता दिन चेतावनी दियो । कसैलाई केही पनि हानि नभएकाले पैसा फाल्ने
व्यक्तिलाई सक्रियताका साथ नखोज्ने प्रहरीले बताएको छ ।
पैसाको वर्षा गर्नुअघि फेसबूकमा लाइभ प्रसारण गर्दै कालो हूडी लगाएका एक व्यक्तिले एक महत्त्वपूर्ण घटना हुन लागेको बताए । ‘आकाशबाट पैसा खस्छ भन्ने कुरामा यहाँ कसैले विश्वास गर्छ ?’ उनी सोध्छन् । त्यसपछि क्यामरा
एउटा भवनतर्फ सोझिन्छ र त्यहाँबाट पैसा झर्न थाल्छ ।
भिडियोले यी दाता न्यायदाता सुपरहिरो भएको र धनीहरूलाई लुटेर गरीबहरूलाई बाँडिरहेको भनी वर्णन गरेको थियो ।
यो भिडियो पोस्ट गर्ने व्यक्ति इपोक क्रिप्टोकरेन्सीका मालिक भएको विश्वास गरिएको छ । उक्त कम्पनीले डिजिटल सम्पत्तिलाई अन्लाइन बिक्री गर्न प्रोत्साहन गर्ने गरेको छ ।
एजेन्सी