काठमाडौं, २२ फागुन — चीनका प्रधानमन्त्रीले वार्षिक नेसनल पिपुल्स कंग्रेसको पहिलो दिनमा आफ्नो सम्बोधनका क्रममा विश्व गहन राजनीतिक र आर्थिक उथलपुथलको स्थितिमा रहेको बताएका छन् । डोनाल्ड ट्रम्पको भूतले विश्व आक्रान्त हुन लागेको उनको संकेत थियो ।

ग्रेट हल अफ द पिपुलमा बोल्दै चिनियाँ प्रधानमन्त्री ली खस्याङले चीनलाई थप जटिल र गम्भीर अवस्थाका लागि तयार रहन आग्रह गरे । चीनभित्र र बाहिरका घटनाक्रमका कारण यस्ता जटिलता आएको उनको भनाइ थियो ।
‘संसारका प्रमुख अर्थतन्त्रका नीतिहरूको दिशाका बारेमा तथा तिनको असरका बारेमा धेरै अनिश्चितता छन् र अस्थिरता तथा अनिश्चितता जन्माउने तत्त्वहरू बढिरहेका छन्,’ लीले ट्रम्पको जीतलाई अप्रत्यक्ष रूपमा संकेत गर्दै भने ।
ट्रम्पले चीनलाई अमेरिकाको शत्रुका रूपमा व्याख्या गरेका छन् र लगातार रूपमा ऊसँग व्यापारमा कठोरता अपनाउने धम्की दिँदै आएका छन् । यसले दुई देशका बीच व्यापार युद्धको डर बढाएको छ ।
गत मंगलवार कंग्रेसमा भाषण दिने क्रममा ट्रम्पले चीनका कारण अमेरिकाले ६० हजार कारखाना बन्द गर्नुपरेको दाबी गरेका थिए ।
तियानानमेन स्क्वेर अडिटोरियममा तीन हजार प्रतिनिधिलाई सम्बोधन गर्दै लीले चीन अमेरिकाभन्दा फरक रहेको धारणा राखे । अमेरिका आफैंभित्र सीमित हुन खोजेको संकेत गर्दै लीले भौगोलिकीकरणको ट्रेन्ड र संरक्षणवाद बढ्दै गएकोमा चेतावनी दिए ।
चीन चाहिँ जिम्मेवार देश भएको उनले बताए ।
द गार्डियनबाट