२६ जेठ २०८३, मंगलबार

अधुरो पढाइदेखि सफल उद्योगीसम्म : २० रुपैयाँको यात्राबाट २० करोडका मालिक

पुस १, २०७५
अधुरो पढाइदेखि सफल उद्योगीसम्म : २० रुपैयाँको यात्राबाट २० करोडका मालिक

बुटवल – रूपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी २०४६ सालमा रूपन्देही झर्दा २० रूपैयाँ मात्र साथमा थियो । तानसेन–बुटवलका भाडा मात्रै १४ रूपैयाँ थियो । 

अधिकारी ६ वर्षका हुँदा उनका बाबाको मृत्यु भयो । घरका जेठा छोरा सम्पूर्ण जिम्मेवारी उनको काँधमा । एसएलसी पास गरेर आईए पढ्न बुटवल झरे उनी । 

लुम्बिनी वाणिज्य क्याम्पसमा आइकम भर्ना भए । तर कोठाको भाडा तिर्ने, कलेजको फी तिर्ने, खाने पैसा थिएन । उनलाई ठूलो समस्या आइपर्‍यो । काम खोज्दै जाँदा उनी बुटवल औद्योगिक क्षेत्रमा रहेको मालती इन्डस्ट्रिज प्रालिमा मार्केटिकको जागिर पाए ।

बिहान कलेज र दिउँसो जागिर गर्न थाले । मालती उद्योगले प्लास्टिकका सुथरी (डोरी) उत्पादन गर्थ्यो । केही समयपछि राजमार्ग चौराहामा किराना पसल समेत सञ्चालन गरे । 

बिहान कलेज, दिउँसो जागिर र साँझ पसल गरी ३ तिर उनको व्यस्तता बढ्यो । पसल राम्रो चलेपछि एक्लै सञ्चालन गर्न समस्या भएपछि भारतमा रहेका आफ्ना भिनाजु कृष्णप्रसाद तिवारीलाई बोलाएर २ जनाले राम्रोसँग चलाए ।

उद्योगमा काम गर्दै जाँदा डोलीलाई केही उपयोगी काम प्रयोग गर्ने भनेर दिनहुँ घोत्लिन थाले । उनलाई १ दिन आइडिया फुर्‍यो । गाउँघरमा गाईभैसीलाई बाँध्ने दाम्लो बनाउँदै आएका उनले प्लास्टिकको डोरीबाट दाम्लो बनाएर बिक्री गरे कसो होला भन्ने सोचे । १ दिन आफैले काम गर्ने उद्योगबाट उनले ५ किलो (प्रतिकेजी ७० का दरले) डोरी किनेर ल्याएर रातभर दाम्ला बाटे ।

ती दाम्ला अमरपथको निलम प्लास्टिकलाई ७० रूपैयाँ ल्याएको १ सय ४० रुपैयाँका दरले प्रतिकेजी दाम्ला बेचे । ती दाम्ला उनीले हेर्दाहेर्दै सबै बिक्री भए । पसलका व्यापारीले भोलि १० किलो दाम्लो ल्याइदिन भने । उनले डोरी किनेर रातभर दाम्ला बाट्दै बिक्री गर्न थाले । उनका साथी भैरव सुवेदी र अधिकारीले रातभर दाम्ला बाटेर दिउँसो हाटबजारदेखि विभिन्न पसलमा दाम्ला बिक्री गर्न थाले ।

त्यसबाट दुवैले राम्रो आम्दामी गरे । उनले बिक्री गरेका दाम्मा गाउँगाउँमा पुग्न थाले । दाम्लाको माग हवात्तै बढ्यो । रातभर सय केजीसम्मका दाम्ला बाटेर बिक्री गर्न थाले । आफ्नै उद्योगका डोरीले दाम्ला बनाउनको उद्योगमा जानकारी भएपछि उनलाई नारायणगढबाट रसी मगाएर भएपनि दाम्ला बनाउन छाडेनन् । इन्डस्ट्रिजले उनलाई मार्केटबाट व्यवस्थापनको जिम्मेवारी दियो ।

उनको पढाइ त्यतिकै अलपत्र पर्‍यो । उनले पढाइमा ध्यान दिएनन् । उनलाई व्यवस्थापनको जिम्मेवारी दिएपछि उद्योगले आइसक्रिम पोन र मालती क्रिम बिस्कुट पनि उत्पादन गर्न थाल्यो । तर २ थप उत्पादन थालेपछि उद्योग धरासायी भएर बन्द हुन पुग्यो ।

उनले सोच बन्द उद्योग सञ्चालन गर्नुपर्छ भनेर उक्त उद्योगका सञ्चालक दलबहादुर थापा, भुपालकुमार श्रेष्ठ, नन्दीकिशोर ढकाल, डम्मरदेव अर्याल र प्रेम श्रेष्ठसँगबाट उक्त मालती उद्योग किनेर पुनः डोरी उत्पादन शुरू गरे ।

अधिकारीको नेतृत्वमा टंक कँडेल, गमप्रसाद रेश्मी, बलबहादुर थापा, तिलप्रसाद भट्टराईले बन्द उद्योग पुराना सञ्चालकबाट २० लाख रुपैयाँमा किन्ने गरी तत्काल ६ लाख रूपैयाँ दिएर पुनः सञ्चालन गरे । २०५६ बाट शुरू भएको उद्योगबाट उनले २०५९ सालसम्म राम्रो आम्दानी गरे । त्यो उद्योग २०५९ सालमा बन्द गराइयो ।

उनको हाल बुटवल रहेको स्वस्तिक ग्यासमा पनि उनको लगानी छ । गुराँस प्लास्टिक, नेपाल बल्याक बोर्ड एण्ड एलाइड उद्योग प्रालि पनि सञ्चालनमा छन् भने ५ जनाको टीमले रूपन्देहीको देवदहमा दाना उद्योग सञ्चालन गर्दैछन् ।

२० रूपैयाँबाट अहिले उनी २० करोडका मालिक बनेका छन् । अधिकारी भन्छन्, ‘सोही उद्योगबाट दैनिक ५ टन डोरी उत्पादन अहिले पनि गरिरहेको छ । जहाँ अहिले ९० मजदूर कार्यरत छन् । अधिकारीले भने, ‘इमान्दार र लगनशील भएर काम गरे एक पटक अवश्य सफल भइन्छ ।’ 

सफलताको कडी धैयता नै हो । उनी उद्योगमा सफलतासँगै संघसंस्थाको नेतृत्व पनि राम्रो गरेका छन् । उनी बुटवल औद्योगिक क्षेत्र उद्योग संघको सचिव, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्म भए । फेरि उनी रूपन्देही उद्योग संघको सचिव महासचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्ष हुन् । उनी भन्छन्, ‘कामलाई सानो ठूलो भन्नु हुँदैन । आफूले लिएको लक्ष्यलाई सही ढंगले अगाडि बढाए सफलतामा पुग्न सकिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्