०१ असार २०८३, सोमबार

प्रचण्ड र मेरो कुर्सी पर सार्न सकिन्छ कि भनेर खेल भइरहेको छ – ओली

प्रचण्ड र मेरो कुर्सी पर सार्न सकिन्छ कि भनेर खेल भइरहेको छ – ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी तालिम केन्द्र सार्ने विषयमा राष्ट्रपतिलाई अनावश्यक रूपमा मुछ्ने प्रयास भएको बताएका छन् । 

तीन दशकअघि भएको निर्णयको कार्यान्वयन गर्न खोज्दा राष्ट्रपतिलाई विवादमा पार्न खोजिएको प्रधानमन्त्रीको भनाइ थियो । राष्ट्रपतिविरुद्ध अमर्यादित रूपमा प्रस्तुत हुने काम भएको भएको भन्दै प्रधानन्त्री ओलीले अमर्यादित रूपमा भनिएका कुरा राष्ट्रपतिविरुद्ध नभई गणतन्त्र विरुद्धमा भएको बताए । 

तत्कालीन नेकपा एमाले निकट र माओवादी निकट कानून व्यवसायी संगठनको एकतापछि पार्टी कार्यलय धुम्बाराहीमा आयोजित  कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी तालिम केन्द्रलाई स्थान अभाव भएको भन्दै तीन दशकअघि अघि नै तालिम केन्द्र सार्ने निर्णय भएको स्मरण गराए ।

‘तालिम केन्द्र शहरको बीचमा पर्‍यो, सानो ठाउँ भयो भनेर तीन दशकअघि नै पनौती सार्ने निर्णय भएको थियो । त्यहाँ १५ सय रोपनी जमिन पनि लिइएको छ । यो हाम्रो निर्णय होइन, अहिलेको निर्णय होइन,’ प्रधानमन्त्री ओलीले भने । 

तालिम केन्द्र लेफराइट र परेड मात्र खेल्ने ठाउँ होइन भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि पनौतीमा १५ सय रोपनी जग्गा लिइएको बताए । राष्ट्रपतिले भनेपछि सार्न खोजिएको भन्दै समाचार प्रकाशित भएकोप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘सार्ने कुरा राष्ट्रपतिले भनेको होइन ।’

‘त्यसलाई यस्तो प्रचार गरिएको छ, त्यो अमर्यादित रूपमा भनिएको छ, त्यो कुरा राष्ट्रपतिका विरुद्ध होइन गणतन्त्रका विरुद्धमा हो,’ प्रधानमन्त्री ओलीले भने,‘गणतन्त्रका विरुद्धमा बोल्नेहरू र राजतन्त्र फर्काउन सकिन्छ कि भनेर सपना देख्नेहरूलाई म सुन्नेगरी भन्न चाहन्छु, त्यस्ता सपना नदेख्नुस्, हामी धेरै बलिदान गरेर यहाँ आएका हौं ।’

आफूहरूले देशलाई जनताको अधिकारको सुरक्षा र सम्मानको पूर्ण प्रत्याभूति भएको लोकातान्त्रिक प्रणालीमा लान चाहेको र लगिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

आफ्नो अधिकार हरण भएको भन्दै कतिपयले आपत्ति जनाइरहेको प्रधानमन्त्री ओलीले बताए । ‘कतिपयले सिभिल राइट खुम्चिन लाग्यो भन्छन्, कठै ! जनताको शासनमा सिभिल राइट खुम्चिन लागेकोमा प्रेस स्वतन्त्रता खुम्चिने होइन,’ ओलीले भने ‘यहाँ सिभिल राइट खुम्चन लागेकोमा होइन वामपन्थीहरू सुदृण सरकारमा गएकोमा चिन्ता छ ।’

कुर्सी सार्ने दाउ !

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले नेकपाको एकताबाट स्वदेशीसहित विदशी शक्तिहरू अताल्लिएको टिप्पणी गरे । संसारमा कहीँ पनि नभएको व्यवस्था नेकपामा रहेको र यो सामान्य विषय नभएको उनको भनाइ थियो । 

‘विश्वमा कुनै पनि पार्टीमा दुईवटा अध्यक्ष छैनन्, दुई अध्यक्ष मिलेर पार्टी चलाएको इतिहास पनि छैन, जुन हामीले गरिरहेका छौं,’ ओलीले भने । 

कतिपयले पार्टीमा टूटफूटको सपना देखेको ओलीको भनाइ थियो । ‘स्थायी कमिटीको बैठकबाट अध्यक्ष फेर्ने हल्ला फिजाइएका छन्,’ ओलीले भने,‘कहाँबाट को आउने हो मैले देखेको छैन, हाम्रो पार्टीमा त्यस्तो कुरा र चर्चा पनि छैन ।’

आफूलाई डेमोक्र्याट भन्नेहरूले दुई अध्यक्षको अनौठो प्रणालीलाई स्वीकार्न नसकेको उनको टिप्पणी थियो ।

‘दुई अध्यक्षको अनौठो प्रणाली छ, हाम्रो । बुज्रुवाहरू आफूलाई डेमोक्र्याट भन्छन्, एउटा जंगलमा दुईवटा बाघ रहन सक्दैनन् झगडा गर्छन् भन्दै हिँडेका छन्, तर यहाँ त एउटा जंगलमा दुईवटा जल्दाबल्दा बाघ छन्,’ ओलीले भने ।

यहाँ लडाईं झगडा गर्न सकिन्छ कि यी कुर्सी (दुई अध्यक्षको कुर्सी)लाई पर सार्न सकिन्छ कि भनेर केही तत्वहरू लागिरहेको ओलीको भनाइ थियो । वर्तमान सरकारको संकल्प अधिकार कब्जा गर्ने नभई देश बनाउने र देशलाई रूपान्तरण गर्ने भएको ओलीले बताए । 

ओलीले प्रचण्डतिर फर्किएर भने ‘संविधानले दिने भए दुवैजना प्रधानमन्त्री हुन्थ्यौं ।’

सबै बुद्धिजीवीलाई भनेको होइन

आफूले बुद्धिजीवीहरूका विषयमा गरेको टिप्पणीलाई गलत रूपमा व्याख्या गरिएको ओलीले बताए । आफूले सबै बुद्धिजीवीलाई नभनेको उनको स्पष्टोक्ति थियो ।

‘कुनैकुनै बुद्धिजीवी सभ्यताका सीमा छाडेर नराम्रो गर्दैहुनुन्छ, कुनै–कुनै बुद्धिजीवी भनेको थिएँ, बेलुकैबाट शुरू भयो,’ हाँस्दै ओलीले भने,‘यसको दुष्प्रचार भयो, कुनै-कुनै बुद्धिजीवी भनेका थिए, हामी बुद्धिका विरोधी होइनौं ।’

कसैसँग केही विषयको सर्टिफिकेट छ भन्दैमा जनताले लडेर ल्याएको परिवर्तनलाई पछाडि फर्काउने प्रयास गरेमा त्यसलाई स्वीकार्न नसकिने ओलीको भनाइ थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्