२६ जेठ २०८३, मंगलबार

ओली–प्रचण्ड प्रतिवेदन : कांग्रेस दिशाहीन, फोरम उदार, राजपा द्विविधामा

ओली–प्रचण्ड प्रतिवेदन : कांग्रेस दिशाहीन, फोरम उदार, राजपा द्विविधामा

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

पार्टी एकताको लामो समयपछि शनिवार बसको स्थायी कमिटी बैठकमा पेश भएको प्रतिवेदन सदस्यहरुलाई अध्ययन को लागि दिइएको छ । शनिवार र आइतबार अध्ययपछि सोमबार बस्ने बैठकमा सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ । 

पार्टी एकता, सरकार सञ्चालन, वर्तमान राजनीतिक परिस्थिति, अन्य राजनीतिक दलहरुको भूमिका लगात विषय प्रतिवेदनमा समेटिएको छ । 

प्रतिवेदनमा ५ नम्बर बुँदामा राजनीतिक दलहरुको भूमिकाबारे लेखिएको छ । जसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सही दिशा ग्रहण गर्ने सम्भावना नरहेको उल्लखे गरिएको छ । प्रतिवेदनमा भनिएको छ, विगत निर्वाचन परिणामबाट कमजोर अवस्थामा खुम्चिन पुगेको नेपाली काङ्ग्रेसमा अन्यौल व्याप्त छ । वैचारिक र राजनीतिक पुनर्संरचनाको प्रसङ्ग चले पनि यस पार्टीले सही दिशा ग्रहण गर्ने संभावना देखिँदैन ।’

 आफ्नो असफलतालाई ढाकछोप गर्न कांग्रेसमा यतिबेला सरकारका विरुद्ध भ्रामक प्रचारमा उत्रिने, सानातिना असन्तुष्टिलाई पनि उछाल्ने र राजनीतिकरण गर्ने प्रवृत्ति देखा परेको प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यस्तै संघीय समाजवादी फोमलाई भने तराई मधेसमा क्रियाशील दलहरुमध्ये तुलनात्मक रुपमा उदार र सकारातमक सोच राख्ने दलको रुपमा प्रतिवेदनमा चित्रित गरिएको छ । अर्को मधेस केन्द्रीत दल राजपा भने यतिबेला द्विविधामा परेको देखिएको प्रतिवेदनमा उल्लखे गरिएको छ । ‘निरन्तर संवादका माध्यमबाट लोकतन्त्र, संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढीकरण  एवं तराई–मधेसको सामाजिक आर्थिक रुपान्तरणमा यस पार्टीलाई पनि सकारात्मक स्थानमा उभ्याउने नीति लिनु पर्दछ ।’ प्रतिवेदनमा भनिएको छ । 

यस्तो लेखिएको छ प्रतिवेदनमा

राजनीतिक दलहरुको भूमिका 

विगत निर्वाचन परिणामबाट कमजोर अवस्थामा खुम्चिन पुगेको नेपाली काङ्ग्रेसमा अन्यौल व्याप्त छ । वैचारिक र राजनीतिक पुनर्संरचनाको प्रसङ्ग चले पनि यस पार्टीले सही दिशा ग्रहण गर्ने संभावना देखिँदैन । आफ्नो असफलतालाई ढाकछोप गर्न यस पार्टीमा यतिबेला सरकारका विरुद्ध भ्रामक प्रचारमा उत्रिने, सानातिना असन्तुष्टिलाई पनि उछाल्ने र राजनीतिकरण गर्ने प्रवृत्ति देखा परेको छ । नेपालको संसदीय इतिहासमा सर्वाधिक लामो समयसम्म सरकारको नेतृत्व गरेको र त्यसै अवधिमै मुलुकले थप दुर्गति बेहोर्नु परेको यथार्थलाई ढाकछोप गर्दै यतिबेला यसका कतिपय नेताहरु सरकार विरुद्ध कहिले कथित अधिनायकवाद त कहिले असफलताको अनर्गल प्रचारमा उत्रिएका छन् । संविधानको कार्यान्वयन र समृद्धिको यात्रामा नेपाली काङ्ग्रेससँग पनि संभव भएसम्म समझदारी कायम गर्दै अगाडि बढ्ने हाम्रो पार्टीको नीति छ । तर, विगतमा यसका गलत नीति र भूमिकाका कारण राष्ट्र पछाडि पर्नु परेको यथार्थलाई ढाकछोप गर्न हुँदैन । यसको जनविरोधी अर्थराजनीति, राष्ट्रियताका प्रश्नमा लुलो र ढुलमुलेपन, वामपन्थी विरोधी पूर्वाग्रही चिन्तन र यथास्थितिवादको आलोचना गर्ने एवं राष्ट्रिय सरोकारका प्रश्नमा समझदारी निर्माण गर्ने नीतिका साथ अगाडि बढ्नु पर्दछ । 

सङ्घीय समाजवादी फोरम, नेपाल यतिबेला सरकारमा सामेल छ । तराई–मधेसमा क्रियाशील दलहरुमध्ये तुलनात्मक रुपमा उदार र सकारात्मक सोच राख्ने यस शक्तिसँग लोकतन्त्र, संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढीकरण एवं तराई–मधेसको सामाजिक आर्थिक रुपान्तरणका लागि सहकार्य गर्दै अगाडि बढ्नु आवश्यक छ ।

राष्ट्रिय जनता पार्टी, नेपाल यतिबेला द्विविधामा देखिएको छ । यसका नेताहरुले संविधान संशोधन नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने अभिव्यक्ति दिन थालेका छन् । निरन्तर संवादका माध्यमबाट लोकतन्त्र, संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढीकरण  एवं तराई–मधेसको सामाजिक आर्थिक रुपान्तरणमा यस पार्टीलाई पनि सकारात्मक स्थानमा उभ्याउने नीति लिनु पर्दछ । सरकारले नागरिकता सम्बन्धी सरोकारलाई नागरिकता ऐन संशोधन विधेयक मार्फत् संवोधन गरेको छ । तराई मधेस समृद्धिको योजना अगाडि सारेको छ । तराई–मधेसका समस्या समाधानको अगुवाइ हाम्रो पार्टी र यही सरकारले नै गरिरहेको र गर्दै जाने सच्चाइलाई स्थापित गर्न जरुरी छ । 

salt training

कमेन्ट गर्नुहोस्