
काठमाडौं – मुगुका २२ वर्षीय विशाल बम राष्ट्रिय ट्रमा सेन्टरको छैटौं तलामा रहेको ६ सय ३८ नम्बर शय्यामा अक्सिजनको साहरामा बाँचिरहेका छन् । उनको घाँटीमा प्वाल पारेर सिधै फोक्सोमा अक्सिजन दिइएको छ ।
उमेरले ५ दशक पार गरेकी आमा तारादेवी बम रसिला आँखा बनाउँदै चिन्तित मुद्रामा छोराको छेउमै भेटिन्छिन् । हलचल गर्न नसक्ने छोराको हेरविचारका लागि उनी रातदिन नभनी खटिएकी छन् ।
बुढ्यौलीले चाउरी परेको तारादेवीको अनुहारमा खुशीको रंग उडिसकेको छ । तर छोरालाई निको हुने आशा अझै मरेको छैन । दुनियासँग हारगुहार गर्दै ८ महिनादेखि ट्रमा सेन्टरमा छोराको हेरचाहमा तल्लिन छिन्, उनी । मुगुमा भेडा चराउन जाँदा रुखबाट लडेका विशाललाई स्पाइनल इञ्जुरी भएको छ । ८ महिनादेखि उनी ट्रमा सेन्टरमा उपचाररत छन् ।

‘छोराको उपचारका लागि दौडिराछु । कम्मरदेखि खुट्टासम्म ६ ठाउँमा घाउ छ । छातीबाट अक्सिजन दिएका छन्, बिजोक छ हालत,’ तारादेवीले लोकान्तरसँग भनिन् । पहिले श्रीमान् र अहिले छोरालाई लिएर अस्पताल धाएको १० वर्ष बितिसक्यो । उनी भन्छिन्, ‘१० वर्ष भयो अस्पताल धाएको, अस्पताल बस्दैमा मेरो जिन्दगी गयो ।’
रुखबाट लडेर यो अवस्था
मुगुको छायानाथ रारा नगरपालिका– ७ पिनाकी तारादेवीको घरमा गरीबी निवारण संस्थाले दिएको ६ वटा सहित २२ वटा भेडा थिए ।
तारादेवीका छोरा विशाल वैशाख २६ गते गर्मी छल्न २२ वटा भेडा लिएर जंगल गएका थिए । घाँस काट्न भनेर रुख चढेका उनी त्यहीँबाट लडेर अचेत बने ।
उनलाई रातको ९ बजे घर ल्याइयो । विशाल अचेत अवस्थामा थिए, तर रातिको ९ बजे अस्पताल लैजाने कोही भएनन् । ‘दिउँसो ३ बजे लडेको छेरालाई राति ९ बजे घर ल्याइयो । राति अस्पताल लैजाने मान्छे नै भएन । गरीबका लागि राति को जन्थ्यो र ! धनीको भए पो जान्थे ।’ उनले गुनासो गरिन् ।
भोलिपल्ट गाउँलेसँग हारगुहार गरेर तारादेवीले छोरालाई जिल्ला अस्पताल मुगु पुर्याइन् । जिल्ला अस्पताल मुगुले त्यहाँ उपचार हुन नसक्ने भन्दै भोलिपल्ट नै नेपालगञ्ज रिफर गर्यो । प्रतिभेडा ५ हजारका दरले सबै भेडा बेचेर छोरालाई एक लाख २० हजार खर्च गरी हेलिकप्टरमा नेपालगञ्ज पुर्याइन् ।
नेपालगञ्जमा सिटी स्क्यान, एमआरआई र एक्सरे गरेपछि स्पाइनल इञ्जुरी भएको भन्दै काठमाडौं रिफर गरियो ।
‘त्यहाँ स्पाइनल हो, काठमाडौं लानु भन्यो । नेपालगञ्जमा एक बास राखेर सिधै काठमाडौं पठायो,’ तारादेवीले भनिन्, ‘नेपालगञ्जमा छोरा होस्मा थिएन । एम्बुलेन्सले २५ हजार भन्याथ्यो, एकल महिला भनेर २३ हजारमा ल्यायो ।’
वैशाख २८ गते तारादेवीले छोरा विशाललाई ट्रमा सेन्टरमा ल्याएकी थिइन् । दुई महिनासम्म आईसीयुमा रहेका विशाललाई अहिले नर्मल वार्डमा सारेको छ । विशाललाई अहिले पनि अक्सिजन दिएर राखिएको छ ।

चन्दा र सहयोगबाट उपचार
तारादेवीले एकल महिला घुम्ती कोषबाट १९ हजार ऋण लिएर छोरालाई जिल्ला अस्पताल पुर्याएकी थिइन् । उनीसँग भएको पैसा जिल्ला अस्पतालमा नै सकियो ।
गाउँलेसँग सरसापट र भेडा बेचेर आएको पैसा जम्मा गरेर नेपालगञ्ज पुर्याइन् । ‘घरबाट जिल्ला अस्पताल लाँदा ११ हजार, नेपालगञ्ज पुग्दा हेलिकप्टरमा एक लाख २० हजार, नेपालगञ्जमा १६ हजार, एम्बुलेन्समा काठमाडौं आइपुग्दा २३ हजार,’ तारादेवीले काठमाडौंसम्म आउँदाको खर्च सुनाइन् ।
ट्रमा सेन्टरमा ल्याएपछि उनले आईसीयूमा दुईपटक १०/१० हजार र एक पटक एक हजार तिरेकी छन् । ३ महिनाको आईसीयू बेड चार्ज र अस्पतालबाट हुने उपचार खर्च उनले छुट पाएकी छन् । अस्पताल प्रशासनकै आग्रहमा २ महिनासम्म क्यान्टिनले पनि निःशुल्क खाना खुवाएको थियो । औषधि खर्च आफैंले जुटाउनु पर्छ ।
कुनै दिन बिरामीको खाना, कुनै दिन भोकै
अस्पतालले उपचारमा छुट दिएपनि अस्पताल बाहिरबाट ल्याउनुपर्ने औषधि र खानाको खर्च तिर्न तारादेवीलाई धौ–धौ छ । अन्य शय्यामा बिरामी भेट्न आउनेले दया गरेर दिने पोषिलो खानेकुरा छोरालाई दिन्छिन्, अस्पतालले बिरामीलाई दिने खाना खाएर उनको जीवन धानिएको छ ।
‘यताउता बेडका मान्छेले दिएको पैसाले औषधि किन्छु, सिस्टरले आमालाई दुःख छ भनेर बिरामीलाई ल्याएको खाना दिन्थे, त्यही खाएँ,’ तारादेवीले भनिन्, ‘औषधि लिन यताउता जानुपर्छ । कोही दिन भोकै बसेकी छु ।’ यति भन्दै गर्दा गहभरी भएको आँसु उनले पुछिन् ।
शोक र रोगले छाडेन
१३ वर्षको उमेरमै बिहे गरेकी तारादेवीको घरमा सासु र ससुरा दुवै शारीरिक रूपमा अपाङ्ग थिए । उनले विवाह गरेदेखि नै अपाङ्गता भएका सासु–ससुराको स्यहारमा खटिनुपर्यो । तारादेवीका पति सेक्युरेटी गार्डको काम गर्थे ।
उनले ३० वर्षको उमेरमा छोरा विशाललाई जन्म दिएकी थिइन् । गरीब भएपनि जसोतसो जीवन चलेकै थियो । ५ वर्षअगाडि छोराको बिहे भयो । पहिलेदेखि नै बिरामी परिरहेका पति त्यसपछि मुटुरोगले थला परे ।

तारादेवीका पतिको मृत्यु भएको जेठमा एकवर्ष पुगेको छ । मुटुका बिरामी पतिलाई उनले १० वर्षसम्म विभिन्न अस्पतालमा उपचार गराएकी थिइन् । ‘श्रीमान् १० वर्ष थला परे मुटुरोग लागेर । पछि क्यान्सर भएर बिते । त्यसको एकवर्ष नपुग्दै छोराको यो हालत छ ।’
पतिकै उपचारका क्रममा लागेको ऋणले मुगुमा भएको जायजेथा बैंकको धितोमा छ । चन्दा उठाएर जम्मा भएको रकमले कतिदिन छोराको औषधि किन्न सकिन्छ, तारादेवी आफैंलाई थाहा छैन ।
पत्नी दुई महिनाकी सुत्केरी
अस्पतालको शय्यामा रहेका विशालकी पत्नी रश्मी बम दुई महिनाकी सुत्केरी छन् । रुखबाट लडेर पति घाइते भएपछि उनी असारदेखि ट्रमा सेन्टरमै थिइन् । पोषिलो खाना खाएर बस्नुपर्ने गर्भवती अवस्थामा उनले ट्रमा सेन्टरमै अरुले दिएको खाएर चिसो भुइँमा रात काटिन् ।
‘श्रीमान् बिरामी भएको एक महिनापछि म यहाँ आएको । यहाँ हाम्रो कोही छैन । यहीँ सुत्थेँ, के गर्नु सहारा कोही थिएन,’ रश्मीले ट्रमा सेन्टरको भुइँतिर देखाउँदै भनिन्, ‘कुनै दिन बिरामीले खाने खाना खान पाइथ्यो, कुनै दिन भाकै ।’

पतिकै हेरचाहका लागि ट्रमा सेन्टरमा रहेकी रश्मीलाई कात्तिक ५ गते सुत्केरी व्यथाले च्याप्यो । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पताल लगियो । उनले सोही दिन छोरा जन्माइन् । अहिले रश्मी नवजीवन केन्द्र नामक सामाजिक संस्थामा आश्रय लिएर बसेकी छन् ।
सुत्केरी भएपछि रश्मी पतिलाई भेट्न कहिले काहीँ ट्रमा सेन्टर पुग्छिन् । विशालकी आमा तारादेवी बुहारीलाई संस्थाको जिम्मामा छाडेर छोराको उपचारमा दिनरात नभनी खटिएकी छन् ।
‘आमा यहीँ बस्नुहुन्छ । छोरा जन्मिएपछि म संस्थामै छु । त्यहाँ त मलाई राम्रो छ । दिदीहरूले खान लाउन देका छन्,’ आफ्नो पतिलाई औषधि खुवाउँदै गरेकी सासुतिर हेर्दै उनले भनिन्, ‘आमा यहीँ बस्नुहुन्छ । उहाँले लगाउनुभएको कपडा धेरै पुरानो छ । अहिलेसम्म फेर्न पनि पाउनुभएको छैन ।’
स्वास्थ्य अवस्था नाजुक
विशालको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था निकै नाजुक छ ।
‘बिरामीको अवस्था निकै नाजुक छ । स्पाइनल इञ्जुरीका कारण हातखुट्टा चल्दैनन् । नाकले श्वास फेर्न नसक्दा निमोनिया हुने, फोक्सोमा खकार जम्मा हुने समस्या पटक–पटक देखिएको छ, हामीले खासगरी त्यसैको उपचार गरिरहेका छौं,’ उपचारमा संलग्न डा. पीयूष दाहालले भने । हातले खाना खाने बनाउन सकिन्छ कि भनेर थेपारी गराइरहेको उनले बताए ।
८ महिनादेखि उत्तानो परेर सुत्दा विशालको पिठ्युँमा घाउ नै भइसकेको छ । उनका लागि विशेष प्रकारको ह्विल चेयर आवश्यक पर्ने डा. दाहालले बताए । तर अस्पतालमा त्यस्तो ह्विल चेयर उपलब्ध छैन ।