
काठमाडौं –नाकमा बुलाकी, आँखामा पावरवाला चस्मा, शरीरमा गुन्युचोली र पछ्यौरी अनि पछाडि भिरेको एउटा झोला । मंगलवार दिउँसो नेपाली कांग्रेसको महासमिति बैठकस्थल पुग्दा देखिएको एक वृद्धाको हुलिया हो यो ।
उमेरले ७ दशक नाघेको जस्तो देखिने ती वृद्धा कांग्रेस महासमिति बैठकको एउटा कुनामा घरी यता, घरी उता गरिरहेकी थिइन् ।
एउटा हातमा पुरानो ‘ब्ल्याक एण्ड व्हाइट’ फ्रेम सहितको फोटो र अर्को हातमा सेता कागजहरू थिए । वरिपरि पत्रकारहरूले महासमिति बैठकमा उपस्थित सदस्यहरूलाई बोलाएर प्रश्न सोधिरहेका थिए भने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भर्खर ‘मिडिया ब्रिफिङ’ सकेर बन्दसत्र चलिरहेको बैठक स्थलमा छिर्दै थिए ।
‘मेरो प्रचार गरिदिनुपर्यो’ भन्दै ती वृद्धा ऋषि धमलानजिकै पुगिन् । त्यतिबेला ‘जनता जान्न चाहन्छन्’ भन्दै धमलाले कांग्रेस नेता धनराज गुरुङसँग चर्काचर्की गरिरहेका थिए । धमलालाई ती वृद्धाको कुरा सुन्ने फुर्सद थिएन । त्यसपछि अर्को टेलिभिजन क्यामेरा नजिक पुगिन, उनीहरूले पनि वास्ता गरेनन् ।

वृद्धा निराश भइनन् । तीन चारजना संचारकर्मीलाई आफ्नो प्रचार गरिदिन आग्रह गरेकी वृद्धाले कसैको ध्यान तान्न नसकेपछि उनी लोकान्तरकर्मीको आँखामा परिन् । शुरूमा लाग्यो, धर्म या कुनै विषयमा प्रचार गर्न खोजेकी होलिन्, या केही बेच्दै होलिन् । आमा कहाँबाट आउनु भएको भन्ने प्रश्न उनले शायद बुझिनन् र सिधै ‘मेरो डेढ करोड खायो’ भन्न थालिन् ।
वृद्धाले दिएको उत्तर निकै संवेदनशील थियो । सामान्य हुलियामा कांग्रेस महासमिति बैठकमा छिरेकी उनले घाँटीमा महासमिति सदस्यको ‘पास’ भिरेकी थिइनन् । पत्रकारहरूलाई पनि मुश्किलले गेटबाट छिर्न दिने कांग्रेस स्वयंसेवकहरूले तिनलाई भित्र कसरी छिर्न दिए भन्ने प्रश्न एउटा कोणबाट उठ्न सक्थ्यो भने कतै कुनै नेताले उनको डेढ करोड खाएर बैठकभित्र त लुकिरहेको छैन ? भन्ने अर्को प्रश्न उठ्न सक्थ्यो । तर मै हुँ भन्ने मिडियाकर्मीले तिनलाई वास्ता गरेनन् ।
‘आमा यता आउनुस् र भन्नुस्, कसले पैसा खायो ?’ भनेर सोध्ने बित्तिकै उनले हातमा रहेका केही कागजहरू एक-एक गरेर देखाउन थालिन् । सबैभन्दा पहिला उनका श्रीमान कृष्णदत्त जोशीलाई वादी र देवर हरिलाल जोशीलाई प्रतिवादी बनाएर सर्वोच्च अदालतको न्यायपरिषद्मा चढाएको उजुरी देखेपछि यो अंश मुद्दा या घरझगडा हो भन्ने छुट्याउन कुनै गाह्रो कुरा भएन । उजुरीमा उनको नाम कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ धनचौरी बस्ने सुनमतीदेवी जोशी लेखिएको थियो ।

उनी थरले मात्र जोशी नभएर मान्छे पनि साँच्चिकै जोशिली थिइन् । आफ्नो देवरले जालसाझी गरेर जग्गा सबै हडपेको विषय लिएर कहिले जिल्ला अदालत, कहिले सर्वोच्च अदालत त कहिले कांग्रेस महासमितिको बैठकमा एक्लै पुग्न सक्ने आँट कैलालीकी एउटी सामान्य वृद्धामा हुनु चानचुने कुरा होइन ।
‘कांग्रेसका कस-कसलाई चिन्नुहुन्छ त ?’ प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ फर्काइन्, ‘मुइले शेरबहादुर देउवालाई पछ्यान्नौ (चिन्छु), अइलसम्म भेट भया नाई छन् (अहिलेसम्म भेट भएको छैन)’ सुनमतीले आफ्नो भाषामा भनिन् ।
हामीले त्यसपछि सोध्यौं, ‘न्याय माग्न कांग्रेस महासमिति बैठकमै किन आउनु भयो ?’ आफ्नै लवजमा उनको जवाफ रोचक थियो । ‘म कांग्रेस हुँ, अनि न्याय माग्न कम्निस्टको बैठकमा जाऊँ त ?’ यसपालि उनले आफ्नै लवज तर हाम्रो भाषामा उत्तर दिइन् । के कुरामा हामी स्पष्ट भयौं भने उनी आफ्नो अडानबाट सजिलै पछि हट्नेवाला छैनन् ।
उनलाई के थाहा छैन भने, शेरबहादुर देउवा कालो शिशा भएको सेतो गाडीमा आउँछन्, अघिपछि रहने आधा दर्जन मान्छेहरूले देउवालाई छपक्कै छोप्छन् र भीडमा हराउँछन् । देउवालाई देख्न पाउने लालसा सुनमतीमा मात्र होइन, महासमितिकै कतिपय सदस्यहरूमा पनि छ । अहिलेका देउवा उबेलाका देउवा जस्ता पटक्कै छैनन् । देउवा चारपटक प्रधानमन्त्री भए । यी चारैपटक देउवालाई प्रधानमन्त्री बनाउने दूरदराजका सुनमतीहरू नै हुन् ।

सुनमती गुनासो गर्छिन्, ‘दाजुभाइको अंशबण्डा नै भएको छैन, तर वकिल र न्यायाधीशलाई घुस खुवाएर अंशबण्डा भएको कागज बनाए अनि सगोलको जग्गालाई अंशबण्डा भइसकेको भन्दै सबै माइला देवरको नाममा गरे ।’
गाउँठाउँका भद्रभलाद्मीहरू मिलेर आ-आफ्ना स्वार्थ अनुरूप एउटाको जग्गा अर्काको नाममा पास गराउने काम नेपाली गाउँले समाजमा नौलो होइन । सुनमती त्यसैको शिकार भएकी रहिछन् ।
आफ्ना ८५ वर्षीय श्रीमानलाई गाउँमै छाडेर कागजपत्रसहित न्याय खोज्न काठमाडौँ र त्यहाँमाथि पनि आफूले सेवा गरेको पुरानो पार्टी ‘नेपाली कांग्रेस’को महासमिति बैठकमा छिरेर नेताहरूलाई गुनासो गर्न सक्ने हिम्मत भएकी सुनमती नेपाली समाजका कैयौं रुढीवादी चिन्तनहरूका लागि ‘चुनौती’ हुन् । ७५ वर्षको उमेरमा पनि न्यायका लागि डटेर लड्न सक्ने साहस एउटा प्रेरणादायी साहस हो ।
चार दाजुभाइ भएको घरमा भित्रिएकी सुनमतीको बिहे हुँदा जेठा र माइला सगोलमा थिए भने साइँला र कान्छा छुट्टिएर अलग बसिसकेका थिए । तर गाउँका भद्र भलाद्मीले जेठाको सम्पति सबै माइलाको भएको भन्दै ४० रोपनी खेतबारी माइलाको नाममा नापी गराए ।

त्यसपछि सुनमती र उनका श्रीमान् जिल्ला अदालत धाए । सुनमतीका अनुसार उनको ठाउँमा २० रोपनी जग्गाको हालको मूल्य डेढ करोड छ । जिल्ला अदालतले अंशबण्डा नभएको भन्दै ४० रोपनी जग्गा आधा-आधा गर्नुपर्ने फैसला गरिदियो । तर यतिमा मात्र मुद्दा टुंगिएन । सर्वोच्च अदालतले पनि अंशबण्डा भएको नदेखिएकाले मेलमिलापकर्ताको रोहबरमा जग्गा भागबण्डा गर्ने आदेश जारी गरेको थियो ।
आदेश अनुसार कैलाली जिल्ला अदालतको मेलमिलाप केन्द्रमा गत असारमा छलफल पनि भएको थियो तर कैलाली अदालतका इजलाश नम्बर ३ का न्यायाधीशहरू दीपककुमार कार्की, अनिलकुमार सिन्हा, नारायणप्रसाद पन्थी र बमकुमार श्रेष्ठले प्रतिवादीको हर्कत अनुसार मुद्दामा प्रभाव पारेको र त्यसमा आर्थिक चलखेल देखिएको निवेदन लेखेर सुनमती न्याय खोज्दै काठमाडौंमा चाहारिरहेकी छिन् ।
को-को नेतालाई भेट्नुभो त ? भन्ने प्रश्नमा उनले धेरै नेतासँग भेट भएको तर आफूले सबैलाई नचिनेको बताइन् । आफूले भेटेकोमध्ये गगन थापाको नाम उनलाई याद रहेछ । ‘गगनले पर्सी भेट्ने भनेर घरमै बोलाएका छन्,’ लोकान्तरकर्मीसँग उनले भनिन् ।
थापाले सुनमतीको गुनासो मात्र सुन्लान् कि न्याय दिलाउन पनि पहल गर्लान्, त्यो भने भविष्यकै गर्भमा छ ।