
काठमाडौँ-एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत भैरहवा क्वालिफायर्समा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा चितवन टाइगर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा क्वालिफायर्समा प्रवेश गरेको हो । क्वालिफायर्समा प्रवेश गरेको भैरहवाले फाइनल प्रवेशका लागि अब काठमाडौँ किङ्ग्स–११ सँग बिहीबार खेल्नेछ ।
चितवनले दिएको १४० रनको लक्ष्य भैरहवाले १८.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा ग¥यो । भैरहवाको जीतमा कुशल मल्लले नटआउट २७ र रोहितकुमार पौडेलले नटआउट २४ रनको योगदान गरे । त्यस्तै प्रदीप ऐरीले ४२ र कप्तान शरद भेषावकरले २९ रन बनाए । बलिङतर्फ चितवनका कमलसिंह ऐरीले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । चितवनका दीपेन्द्रसिंह ऐरीले ५६, सन्दीप सुनारले चार, जोन सिमसन र पाउल स्टर्लिङले समान १४÷१४, कमलसिंह ऐरीले ११ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । बलिङतर्फ भैरहवाका मोहम्मद नाभिदले तीन र अवनाश बोहराले समान दुई विकेट लिए ।