
काठमाडौं — पत्रकारहरूको विश्वव्यापी संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले जारी गरेको स्वतन्त्र प्रेस सूचकांकमा नेपाल पहिलेको अवस्थाबाट खस्किएको देखिएको छ ।
कुल १८० देशमध्ये नेपाल १०६ स्थानमा रहेको छ । सन् २०१७ मा १००औं स्थानमा रहेको नेपाल ६ स्थानमुनि पुगेको हो ।
सन् २०१७ मा विश्वव्यापी स्कोर ३३.०२ ल्याएको नेपालले यसपालि ०.९७ अंक घटाएको छ ।
रिपोर्टर्स विदाउट बोर्डर्सको वेबसाइटमा लेखिएअनुसार, ‘प्रदर्शनहरूको खबर बनाउने क्रममा नेपाली पत्रकारहरूले खतरनाक स्थितिको सामना गरिनैरहनुपरेको छ । तराईमा भएका प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा
पत्रकार र मिडियामाथि भौतिक आक्रमण भए । चुनावका बेलामा धेरै पत्रकारहरूलाई सूचना प्रवाह गर्ने स्वतन्त्रताबाट वञ्चित गरियो । पत्रकारहरूलाई कुनै पनि पुर्जी नदिइकन पक्राउ गरियो र केहीलाई थुनामा यातना समेत दिइयो । केही पत्रकारलाई मतदान केन्द्रमा पहुँच दिइएन । यस सन्दर्भमा नयाँ सरकारले संविधानमा व्यवस्था गरिएबमोजिम प्रेसको पूर्ण स्वतन्त्रताको सम्मान गर्ने कदम चाल्नु जरूरी छ ।’