
काठमाडौं– नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावलविरुद्ध ९१ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र मे फ्लावर नामक अस्टेलियन कम्पनीका नेपाल प्रतिनिधि हिमालय बहादुर पाँडेविरुद्ध जनही ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ ५८ पैसा बिगो जरिवाना र सजाय दावी गर्दै विशेष अदालतमा बिहीवार मुद्दा दायर गरेको हो ।
पूर्वराजा ज्ञोनेन्द्रको तस्बीर अंकित १० रुपैयाँको पोलिमर नोट छपाइएको क्रममा आर्थिक अनियमितता गरेको भेटिएपछि अख्तियारले बिहीवार ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
रु १० दरकाा ५ करोड थान पोलिमर नोट छपाइ गर्दा अस्ट्रेलियन कम्पनीका स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ गरेको, नोट प्रिन्टिङ अस्टेलियासँग गैरकानूनी मिलेमतो गरी स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको अख्तियारमा उजुरी परेको थियो ।
अख्तियारले गरेको छानबिनबाट राष्ट्र बैंकले बोलपत्र आह्वान गर्नु अगाडि नै नोट प्रिन्टिङ नामक अस्ट्रेलियन कम्पनीसँग बोलपत्रका मस्यौदा लिएको भेटिएको छ । यस्तै राष्ट्र बैंक सञ्चालक समितिका निर्णय चुहाएर नोट प्रिन्टिङ अस्ट्रेलियालाई नै ठेक्का पर्ने अवस्था सिर्जना गरेको अख्तियारको अनुसन्धानबाट फेला परेको छ ।
राष्ट्र बैंकका तत्कालीन गभर्नर रावलसहितको मिलेमतोमा जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अस्ट्रेलियालाई हस्तान्तरण गरिएको थियो । राष्ट्र बैंकका अधिकारी र नोट प्रिन्टिङ अस्ट्रेलियाका नेपाल प्रतिनिधिबीच निरन्तर पत्राचार हुने गरेको पनि अख्तियारको छानबिनबाट पत्ता लागेको छ ।
नोट प्रिन्टिङबाट छापिएका गुणस्तरहीन नोटबारे समाचार नल्याउन केही पत्रकारलाई थाइल्याण्डहुँदै अस्ट्रेलिया घुमाउने काम समेत भएको अख्तियारले जनाएको छ ।
राष्ट्र बैंकका अधिकारीले बोलपत्र आह्वान हुनुभन्दा पहिले नै नोट प्रिन्ट अस्टे«लियालाई नोटको डिजाइन गर्न लगाएको समेत अख्तियारको अनुसन्धानबाट खुलेको छ । राष्ट्र बैंकका अधिकारीले नोट प्रिन्ट अस्टे«लियाका स्थानीय एजेन्टको प्रभावमा परेर राजश्व छल्ने नियतले कमिसन रकम समेत उल्लेख नगरेको अख्तियारले जनाएको छ ।
पोलिमर नोटको प्रति हजार परल मूल्य अस्ट्रेलियन डलर ६८ बाट अस्ट्रेलियन डलर ४ बढाएर राष्ट्र बैंकलाई ठूलो क्षति पुर्याएको देखिन आएको अख्तियारको ठहर छ ।