
काठमाडौं — आज २१ डिसेम्बर हो । उत्तरी गोलार्ध अर्थात् नर्दन हेमिस्फियरमा आज वर्षकै सबभन्दा छोटो दिन हो । आजको रात सबभन्दा लामो हुन्छ ।
भोलिदेखि दिन लामो हुन थाल्छ अनि चिसो पनि झनै बढ्छ ।
अंग्रेजीमा यसलाई विन्टर सोल्सटाइस भनिन्छ । सूर्य सीधै मकर रेखामाथि हुँदा विन्टर सोल्सटाइस हुन्छ ।
पृथ्वीमा ऋतु परिवर्तन हुनुका एक मात्र कारण भनेको पृथ्वी झुकेको अक्षमा घुमेकाले गर्दा हो । त्यसकारण वर्षको आधा समय सूर्य उत्तरी ध्रुवतर्फ झुक्छ भने बाँकी आधा समय दक्षिणी ध्रुवतर्फ ।
सूर्यको झुकाव अधिक भएको ठाउँमा सूर्य प्रकाश बढी पुग्छ र गर्मी हुन्छ । अनि सूर्यको प्रकाश कम पुगेको ठाउँमा जाडो हुन्छ । पृथ्वी आफ्नो अक्षमा साढे २३ डिग्री झुकेको छ जसले गर्दा सूर्यको दूरी उत्तरी गोलार्धभन्दा बढी हुन्छ ।
विन्टर सोल्सटाइसका बेलामा दक्षिणी गोलार्धले सूर्यको प्रकाश बढी पाउँछ । अर्थात् दक्षिणी गोलार्धमा रहेका अस्ट्रेलिया जस्ता देशमा यतिखेर गर्मी हुन्छ । अनि उत्तरी गोलार्धमा चाहिँ जाडो हुन्छ र दिन छोटो, रात लामो हुन्छ ।
दिन कति लामो हुने भन्ने कुरा भूमध्यरेखासँगको दूरीका आधारमा निश्चित हुन्छ । भूमध्यरेखाबाट जति बढी उत्तर गइयो, दिन त्यति छोटो हुन्छ र जति बढी दक्षिण गइयो, दिन त्यति लामो हुन्छ ।
विन्टर सोल्सटाइस परेको दिन सबभन्दा छिटो सूर्योदय र सूर्यास्त हुने हैन । स्थानको हिसाबले सूर्योदय र सूर्यास्त निर्धारित हुनेछ ।
एजेन्सी