०५ असार २०८३, शुक्रबार

नेकपा बैठकमा उठ्यो वृद्ध भत्ताको विषय, पूरक बजेट ल्याएरै भएपनि भत्ता बढाउन माग

पुस ६, २०७५
नेकपा बैठकमा उठ्यो वृद्ध भत्ताको विषय, पूरक बजेट ल्याएरै भएपनि भत्ता बढाउन माग

काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पूरक बजेट ल्याएर भएपनि जेष्ठ नागरिकको भत्ता वृद्धि गर्नुपर्ने आवाज उठेको छ । बैठकमा बोल्दै स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले सरकारले वृद्धभत्ता बढाउने भन्दै आशा बाँडेको तर त्यसमा काम नगरेको आरोप लगाएका हुन् ।

नेकपा नेतृत्वको सरकारलाई पुनर्गठन गर्ने बेला अझै नभएको तर प्रभावकारी बनाउनु पर्ने मत राख्दै विश्वकर्माले लोकान्तरसँग भने, ‘सरकारले प्रभावकारी ढंगबाट काम गर्न सकिरहेको छैन । तराई मधेसमा शीतलहर चलेको छ । यस्तो अवस्थामा जनतासँग खाना, नाना र छाना छैन, त्यसलाई सरकारले तुरुन्त सम्बोधन गर्नुपर्ने आवश्यकता छ, भन्ने विषयमा कुरा राखेँ ।’

‘जाडो छल्नका लागि मात्र भनेर सुदूर पश्चिमका जनता कालापत्थर गइरहेको अवस्था छ, देशका सुकुम्वासी, गरीब, दलितले सरकारबाट अपेक्षा गरे अनुरूपका सेवा सुविधा पाइरहेका छैनन्,’ विश्वकर्मा भन्छन्, ‘सरकारले तत्काल केही गर्नुपर्ने आवश्यकता छ ।’

सरकारले जनतामा सोचेजस्तो प्रभाव पार्न नसकेको र त्यसको कारण खोजी गर्नुपर्ने विश्वकर्माको राय  छ । विश्वकर्मा भन्छन्, ‘पार्टी एकताको काम लथालिङ्ग बनेको अवस्थामा संक्रमणकाल अझ लम्बिने निश्चित छ ।’

यो नेताहरूले एक आपसमा चिसोपन बढाउने समय नभएको तर्क विश्वकर्मा गर्छन् । ‘पुराना पार्टीमा के थियो, कस्तो ढंगले चल्थ्यो अब ती विषयहरूमा बहस गरेर काम छैन,’ विश्वकर्मा भन्छन्, ‘अब देखिने गरेर काम हुनुपर्‍यो । यो सरकार र पार्टीप्रति जनताले देखाएको भरोसालाई टुट्न दिनुहुँदैन ।’

आजको बैठकमा स्थायी कमिटी सदस्यहरू मणि थापा, अमिक शेरचन, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार राखेका थिए ।

बैठक भोलि बिहान ८ बजेदेखि पुन: बस्ने गरी स्थगित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्