काठमाडौं– नेपाली र अंग्रेजी भाषामा निर्माण गरिएको नेपाली चलचित्र ‘द म्यान फ्रम काठमाडौं’को पोष्टर, ट्रेलर, गीतसंगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा निर्माता नकिम उद्दिनले नेपाली चलचित्रले अन्तराष्ट्रिय बजारमा पनि स्थान पाउनुपर्छ भन्ने सोँचका साथ चलचित्र निर्माण गरिएको बताए । यो चलचित्र नेपालमा चैत १ गतेबाट प्रदर्शनमा आउनेछ ।
निर्माता उद्दिनले आफूहरुको अभियान सफल भए अन्य चलचित्रका लागि पनि विदेशी बाटो खुल्ने बताए । ‘यसले निर्मातामा अझ राम्रो चलचित्र बनाउने प्रेरणा दिनेछ’–उनले भने ।
स्वदेश प्रदर्शनपछि चलचित्र विदेशमा प्रदर्शन गरिने सोँच राखिएको चलचित्रमा हालसम्म ४ करोड रुपैयाँ खर्च भईसकेको निर्माता उद्दिनले बताए । उनले भने, ‘विदेशी तथा नेपाली सबै कलाकारहरुले एकदम सस्तोमा काम गर्नुभएको हुनाले अहिलेसम्म ४ करोड खर्च भएको छ ।’ उनले यो खर्च केही बढ्ने बताए ।
नेपाल र अमेरिकामा खिचिएको चलचित्रलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । कार्यक्रममा चलचित्रमा समावेश ‘आकाशै घुमेर...’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो ।
चलचित्रमा अमेरिकी अभिनेता जोसे म्यानुअल, गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली अभिनेत्री आना शर्मा, कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्मा शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।