०९ असार २०८३, मंगलबार

दाङ दुर्घटनामा २२ जनाको मृत्यु, कांग्रेस विधान मस्यौदा केन्द्रीय समितिबाट पारित

दाङ दुर्घटनामा २२ जनाको मृत्यु, कांग्रेस विधान मस्यौदा केन्द्रीय समितिबाट पारित

काठमाडौं– सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । शुक्रबार भएको दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् ।

मृतकको सनाखत हुन बाँकी छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसरा आफन्त आएपछि सनाखत हुने छ । शव अहिले तुलसीपुर अञ्चल अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार गम्भीर घाइते ११ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

अन्यको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर तल भीरमा खसेको थियो । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरी तुलसीपुर फर्कँदै थिए । बसमा ३४ विद्यार्थी र दुई शिक्षक सवार थिए । 

दुर्घटनामा परी घाइते हुनेमा जुम्ला तातोपानी गाउँपालिकाका १८ वर्षीया हिमाली हमाल,  जुम्ला चन्दननाथ गाउँपालिका–३ का १६ वर्षीय कशेन्द्र खत्री, दाङको घोराही उपमहानगरपालिका– १५ रतनपुरका १७ वर्षीया समीक्षा रोकाया, अछाम मङ्गलसेन नगरपालिकाका १८ वर्षीय विक्रम भण्डारी, रुकुमको त्रिवेणी गाउँपालिका–३ का १६ वर्षीय प्रेमबहादुर खड्का, दाङको घोराही उपमहानगरपालिका–१९ स्यूजाका १७ वर्षीया मेनुका रिजाल रहेका छन् ।

यसैगरी, जुम्लाको चन्दननाथ गाउँपालिका–२ का २० वर्षीय जीवन भण्डारी, चन्दननाथ गाउँपालिका–४ का १६ वर्षीया पर्शा रोकाया, अछामको मङ्गलसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुङ्गाना, रुकुम सानोभेरी गापा– ३ का १६ वर्षीया रोजिना पुन, दाङ घोराही उपनपा– १४ का १८ वर्षीय सञ्जय खनाल, रुकुम अर्माका १९ वर्षीय राजन डाँगी, अछाम मंगलसैन नगरपालिका–५ का भद्र बिष्ट र रोल्पाका १७ वर्षीय प्रकाश वली घाइते भएको इप्रका तुलसीपुरले जनाएको छ ।

कांग्रेस विधान मस्यौदा केन्द्रीय समितिबाट पारित 
नेपाली कांग्रेसको विधानको संशोधित मस्यौदा लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट पारित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले संघीय संरचनाअनुसार तयार गरिएको पार्टीको विधान मस्यौदा पारित गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

बैठकले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति रहने मस्यौदा पारित गरेको हो । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने निर्णय भएको उनले बताए । 

आठ सहमहामन्त्रीमा संविधानले व्यवस्था गरेका समावेशिताका सबै क्लष्टर समावेश गरिनेछन् । केन्द्रीय कार्यसमिति सङ्ख्या यसअघिको सहमतिअनुसार १६१ रहने वा थपिएका सहमहामन्त्रीको सङ्ख्याअनुसार थप गरी १६७ बनाउने सम्बन्धमा टुङ्ग्याउने जिम्मा प्राविधिक समूहलाई दिएको विश्वकर्माले बताए ।

पार्टीका शीर्ष नेताबीचको लामो रस्साकस्सीपछि विधानमा रहने पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति भएपछि केन्द्रीय कार्यसमितिबाट सो मस्यौदा पारित भएको हो । काङ्ग्रेसको महासमिति बैठक गत मङ्सिर २९ गतेदेखि काठमाडौँमा जारी छ । यसअघि विधानमा सहमति हुन नसक्दा महासमिति बैठक आरम्भ भएको एकसाता भइसक्दा पनि विधान मस्यौदासम्बन्धी प्रतिवेदन बैठकमा पेश हुन सकेको थिएन । 

कांग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । पारित मस्यौदा केन्द्रीय कार्यसमितिको तर्फबाट महामन्त्री एवं समितिका संयोजक पूर्णबहादुर खड्काले महासमितिको जारी बैठकमा शनिबार पुस ७ गते पेश गर्नेछन ।

कांग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ । 

मेलम्ची खानेपानीः अदालतले रोक्यो धरौटी जफतको निर्णय
उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने इटालियन ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको उल्लेख गर्दै धरौटीको रकम जफत गर्ने सरकारको निर्णय रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सिएमसीका तर्फबाट दायर भएको रिट निवेदनमा शुक्रबार सुनुवाइ गर्दै आइतबारसम्म धरौटी जफत गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार गुरुङको इजलासले आदेश जारी गरेको हो ।

उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालका अनुसार आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको र धरौटी जफत गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन गर्न रोक लगाइएको छ । सिएमसीले मेलम्ची खानेपानी आयोजनालाई करीब दुई हप्ताअघि नै सम्झौता रद्द गर्ने सूचना दिएको थियो । गत आइतबार कम्पनीका कर्मचारीले भाग्ने तयारी गरेपछि सरकारले आठ जनाको राहदानी खोसेको थियो ।

१५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरिने 
सात प्रदेशका १५ जिल्लामा यस वर्ष राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले शुक्रबार आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा सो जानकारी दिइएको हो । 

सरकारले पहिलो चरणमा पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीलाई कार्ड वितरण गर्ने काम शुरु गरिसकेको छ । चितवन जिल्लाका १६ वर्षमाथिका जनतालाई यो कार्यक्रममा सहभागी गराइने छ । राष्ट्रिय सुरक्षा कायम गर्न नेपाली एवं विदेशी नागरिकका गतिविधिको अनुुगमन गरी आपराधिक र आतङ्कवादी क्रियाकलापलाई नियन्त्रण गर्न सहज हुने उद्देश्यले सरकारले यो कार्यक्रम गर्न लागेको हो ।

हिउँदे अधिवेशनको तयारी पूरा
संसद् सचिवालयले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को आगामी अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते बुधबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिसक्नुभएको सन्दर्भमा सचिवालयले हिउँदे अधिवेशनको तयारी पूरा गरेको हो ।
 
अधिवेशन सञ्चालनका लागि आवश्यक पर्ने माइकलगायतका सम्पूर्ण उपकरण चुस्त र व्यवस्थित पाइएको सचिवालयका सचिव डा भरतराज गौतमले जानकारी दिए । हिउँदे अधिवेशनको रुपमा रहेको यो अधिवेशनले खासगरी सङ्घ, प्रदेश र स्थानीय तहबीचको साझा सूचीका रुपमा रहेका विषयवस्तुको सम्बोधन गर्ने तथा संविधानसँग बाँझिने पुराना कानूनलाई संविधानसम्मत तुल्याउने गरी कानून निर्माण गर्नेछ ।

नागरिक लगानी कोषमा भद्रगोल
नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल देखिएपछि सर्वसाधारण शेयरधनी आक्रोषित भएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले नागरिक लगानी कोषका काम कारवाही प्रक्रियामा प्रश्न चिह्न देखाएपछि शेयरधनी रुष्ट भएका हुन् ।

आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा सो समस्याका कारण कोषले शुक्रबार राजधानीमा २३औँ वार्षिक साधारणसभामा आव २०७३/७४को मात्रै प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदनमाथि टिप्पणी गर्दै शेयर सदस्य जयन्द्र बानियाँले नागरिक लगानी कोषको हिसाबमा भद्रगोल देखिएको भन्दै संलग्न व्यक्तिलाई कारवाहीको माग गरे ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७३/७४ मा नागरिक लगानी कोषले अधिकांश काम प्रक्रियागत रुपमा देखिएको छैन । कोषले भौतिक सम्पत्तिको परीक्षणसमेत नगराएको र जोखिम कम हुने लगानीका क्षेत्र पहिचान गर्न नसकेको प्रतिवेदनमा जनाइएको छ । 

डान्सबारबाट तीनसय बालबालिकाको उद्धार
नेपाल प्रहरीले डेढ महिनादेखि ललितपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि आपराधिक गतिविधि नियन्त्रण कार्य प्रभावकारी बन्दै गएको छ । यस क्रममा काठमाडौँ उपत्यकामा २८४ बालबालिकालाई विभिन्न डान्सबार, रेष्टुराँ र सिनेमा हलबाट नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको छ । 

‘सामुदायिक संस्थागत विद्यालयका प्रधानाध्यापकको लागि समुदाय प्रहरी साझेदारी अवधारणासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामुदायिक प्रहरी सेवा केन्द्र अपराध नियन्त्रण महाशाखाले हाल देशभर १९२ सामुदायिक केन्द्र स्थापना गरेको बताए । कूल ७५३ स्थानीय तहमध्ये ७४३ सँग साझेदारी गरिएको उनको भनाइ छ । 

प्रेरणाको पुनरावलोकन निवेदन 
पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले दाइजोमा पाएको जग्गा नेपाल ट्रष्टलाई दिने फैसलामा असन्तुष्टि जनाउँदै पुनरावलोकनका लागि सर्वोच्च अदालतलको संवैधानिक इजलासमा निवेदन दर्ता गराएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल ट्रष्टको कार्यालयलगायतलाई विपक्षी बनाई दर्ता गरिएको निवेदनमा आफ्नो मौलिक हकको हनन हुने गरी फैसला भएको उल्लेख छ ।

नेपाल आइडल–२ को उपाधि ओडलाई
चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् । शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको हुन् ।

नेपाल आइडल–२ को उपाधि जितेसँगै उनले रु २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन् । आइडलको फस्र्ट रनरअप गण्डकी प्रदेश, कास्कीका विक्रम बराल भए । उनले २० लाख रुपैयाँ पुस्कार पाए । त्यसैगरी सेकेण्ड रनरअप प्रदेश नं १, झापाका सुमित पाठक भए । उनले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको थर्ड रनरअप प्रदेश नं १ कै झापाकी अस्मिता अधिकारी भइन् । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्