
काठमाडौं – नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस धार्मिक अतिवादतिर लम्किरहेको आरोप लगाएका छन् ।
राजधानीको एक पार्टी प्यालेसमा प्रकाश विकल्पको ‘देश किन बनेन’ भन्ने पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले ‘धर्म मानिसको व्यक्तिगत स्वतन्त्रताको विषय भएको र त्यसलाई राजनीतिमा मिसाउन नहुने तर्क गरेका छन् ।
‘नेपाली कांग्रेसको महासमिति बैठकमा चलेको हिन्दूराष्ट्रको बहसले कांग्रेसलाई धार्मिक अतिवादतर्फ डोर्याउने खतरा रहेको छ,’ प्रचण्ड भन्छन्, ‘राज्यले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा लगाउन मिल्दैन ।’
संविधानमै धार्मिक स्वतन्त्रताको प्रावधान राखिएको र सनातनी धर्म संस्कृतिलाई राज्यले संरक्षण गर्ने उल्लेख गरिएको भन्दै प्रचण्डले संविधानमा उल्लेख गरिएको प्रावधानले धार्मिक सन्तुलन कायम गरेको बताएका हुन् ।
नेपाली कांग्रेसप्रति लक्षित हुँदै प्रचण्ड भन्छन्, ‘बीपीले हिन्दू संस्कार नै अंगाल्नुपर्छ भनेर कहिल्यै भन्नुभएन । तर बीपीले निर्माण गरेको पार्टीमा हिन्दू राष्ट्रको बहस भइरहेको छ, यो बिल्कुलै अमिल्दो कुरा हो ।’
रूसमा जारशाही सकिएको ७५ वर्षपछि पनि एकथरी मान्छेहरू जारलाई खोज्दै हिँडेको प्रसङ्ग निकाल्दै प्रचण्डले नेपालमा राजा चाहिन्छ भन्नेहरूले ‘जार’ खोजिरहेको आरोप लगाएका छन् ।