१० असार २०८३, बुधबार

पैसा र नाम ‘टन्नै’ कमाएका जगत : जलविद्युत्को कमाइमा जगतलाई जोड्ने संकल्प

पुस ७, २०७५
पैसा र नाम ‘टन्नै’ कमाएका जगत : जलविद्युत्को कमाइमा जगतलाई जोड्ने संकल्प

बुटवल – बुटवलका जगतबहादुर पोखरेल युवा व्यवसायी हुन् । उनलाई नचिन्ने सायदै बुटवलमा कोही नहोलान् ।

चम्किलो अनुहार र जोसिलो आँट भएका एक युवा । छोटो समयमा नै उनले रूपन्देहीका धेरै संघसंस्थामा सफल नेतृत्व गरेका छन् ।

जगत एउटा नाम हो, उनले अनेक काम गरेका छन् । ती सबै काम सफल पनि गराएर छाडेका छन् उनले । हिजोको दिनमा केही हुँदैन भन्नेहरू समेत पोखरेलसँग धेरै गर्ने क्षमता छ भन्न थालेका छन् । 

उनले नेपाल जेसिजको अध्यक्ष, बुटवल जेसिज, बुद्ध टिभी, रेडियो रिपब्लिक, पश्चिमाञ्चल एफएम (पाल्पा), लुम्बिनी मेडिकल कलेज, चौतारी माइक्रोफाइनान्स, पश्चिमाञ्चल ग्रामीण विकास बैंक, एडमन्ट सिटी हस्पिटल, भैरव व्याग, भैरवस्थान सहकारी, नवज्योति बोर्डिङ स्कूल, भिजन लुम्बिनी लगायत १५ वटाभन्दा बढी संघसंस्थाको सफल नेतृत्व गरेका छन् ।

बुटवल जेसिसका अध्यक्ष हुँदा उनकै पहलमा ७५ लाख रूपैयाँ संकलन गरी भवन बन्यो । त्यति मात्र गरेनन्, बुटवलबाट बिरामी काठमाडौं पुर्याउन समस्या परेको बेलामा एम्बुलेन्स समेत खरिद गरे । उनी अध्यक्ष हुँदा पश्चिमाञ्चल ग्रामीण विकास बैंकका ५ वटा शाखालाई मर्ज गरी एउटै बनाए । जुन बैंक मर्जर गर्ने नयाँ अभियान थियो ।

उनले विद्यालय, हस्पिटल, मिडियालाई पनि सफल बनाएर छाडेका थिए । उनी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवार थिए । तर त्यसमा भने सफलता (विजयी) हाँसिल गर्न सकेनन् । 

केही संस्थाहरू पोखरेलको अवधारणमा स्थापना भएका हुन् भने केही उनले नेतृत्व गरेपछि कमजोर अवस्थाबाट माथि उठे । उनीसँग केही गर्नुपर्छ भन्ने आँट छ । साहस छ । तिनै जगत पोखरेल बुटवलवासीलाई आर्थिक रूपमा सम्पन्न बनाउन भन्दै ठूलो ‘मेगा प्रोजेक्ट’ निर्माणमा अहिले जुटेका छन् ।

पोखरेलले २०७४ सालमा भिजन लुम्बिनी उर्जा कम्पनी स्थापना गरी लुम्बिनी क्षेत्रको कास्कीमा २५ मेगावाटमा हाइड्रोपावर निर्माणमा जुटेका छन् । 

‘नेपालको पानी जनताको लगानी’ भन्ने सरकारको नारालाई सार्थक बनाउन भन्दै पोखरेल बुटवलका जनताको लगानी गरेर विद्युत् उत्पादन गर्न जुटेका हुन् । पोखरेलले भने, ‘हाइड्रोबाट म मात्र सम्पन्न बन्ने होइन । धेरैभन्दा धेरै बुटवलका युवाको भविष्य समृद्ध बनाउने अभियान हो । यसलाई सफल र सम्पन्न बनाउने दायित्व तपाईहरूजस्ता सक्षम र युवा पत्रकारहरूको पनि हो ।’ 

भिजन लुम्बिनीले बनाउन लागेका आयोजनमध्ये कास्कीको सेती नदी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता समेत भइसकेको छ । नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी उर्जा कम्पनीबीच मंसिर ६ गते सम्झौता भएको हो । वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा खरिद सम्झौता भएको कम्पनीले पोखरेल बताउँछन् ।

‘विद्युत् खरिद सम्झौता भइसकेको छ । अब कन्ट्रक्सनको काम शुरू हुन्छ । परियोजनाले आगामी ३ वर्षभित्र विद्युत् उत्पादन गराएर छाड्छु, त्यही दृढ संकल्पका साथ अगाडि बढेको छु,’ उनले भने । आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिका–मा बन्न लागेको हो ।

परियोजना बनाउन झण्डै ६ अर्ब रूपैयाँ लाग्न अनुमान छ । ‘रकम यहाँका जनताको हुनेछ । जसमा १ लाख २५ हजार रूपैयाँदेखि २ करोड रूपैयाँसम्म लगानी गर्न जनताले सक्नेछन्,’ उनी भन्छन्, ‘यो प्रोजेक्ट बुटवलका युवाहरूलाई धनी बनाउने छ । मेरो अभियानले यहाँका धेरै युवाहरू हाइड्रोप्रोजेक्टमा लगानी गर्न आतुर छन् ।’

‘युवासँग मिलेर काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘तपाईंसँग भिजन हुनुपर्छ, काम गर्ने आँट हुनुपर्छ र त्यो पूरा गर्न संकल्प पनि आवश्यक छ । त्यसको लागि एक्लै काम गर्न भने सकिँदैन । टीम आवश्यक पर्छ । लोभ नगर्नुस्, प्रतिफल दैलोमा ढिलोचाडो आइहाल्छ । तर मानिसमा धैर्यता भने हुनैपर्छ ।’ लगानीका लागि शुरूमा उनलाई बुटवलवासीलाई बुझाउन समय लागेपनि अहिले भिजनमा शेयर राख्न जनता आतुर रहेका देखिन्छन् ।

आयोजनाका लागि १ हजार शेयर सदस्य बनाउने योजना साथ पोखरेल लागेका छन् । ‘हालसम्म ८ सय शेयर सदस्य भइसके । अब हामी २ सय शेयर सदस्य बनाउँदै छौं । त्यसका लागि युवाहरू आतुर छन्,’ उनले भने, ‘भिजन लुम्बिनीको सदस्यका लागि न्यूनतम १ लाख २५ हजार रूपैयाँको शेयर पूँजी हाल्नुपर्छ । भिजन लुम्बिनी सदस्य बनेपछि मात्र भिजन लुम्बिनी हाइड्रोमा शेयर राखिने छ ।’

उनी भन्छन्, ‘छरिएर रहेको सानो रकमलाई एकीकृत गरी सामूहिक लगानीबाट रोजगारी बढाउन भिजन लुम्बिनीको स्थापना भएको हो ।’ भिजनले कृषि, स्वास्थ्य विज्ञान, शैक्षिक, अर्थ वित्त, पर्यटन विकास, व्यापार व्यवसाय, जलविद्युत् तथा उर्जा, सञ्चार, अध्ययन अनुसन्धान तथा जनसम्पर्क प्रतिष्ठानका माध्यमबाट ९ वटै विषयमा काम गर्ने यसको लक्ष्य रहेको र कम्पनी विश्वास, योजना, गोप्यता, सकारात्मक सोचसहित राष्ट्रनिर्माणमा लागेको युवाको जमात भएको पोखरेल दावी गर्छन् । 

सबै क्षेत्रलाई जोडर प्राविधिक विश्वविद्यालय स्थापना गरेपछि भिजन लुम्बिनीको अवधारणा पूर्ण हुने उनले स्पस्ट पारे । ४ वर्षअघि स्थापित भिजन लुम्बिनी लिमिटेडमा पूँजी १० करोड रूपैयाँ भइसकेको छ ।

संस्थाले आगामी दिनमा बुटवलमा ट्रमा सेन्टर स्थापना गर्ने, कोष स्थापना गरी शिक्षा र स्वास्थ्यका लागि सहयोग गर्ने, प्रत्येक योजनालाई रिसर्च एन्ड डेभलपमेन्टका माध्यमबाट जोड्ने योजना बनाएको छ ।

२०३२ सालमा पाल्पाको भैरवस्थानमा जन्मिएका पोखरेलले २० वर्षको उमेरदेखि नै संघसंस्थाको नेतृत्व गर्न शुरू गरेका हुन् । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वअर्थमन्त्री विष्णु पौडेल, नेकपा नेताहरू जर्नाजन शर्मा, टोपबहादुर रायमाझीसँग पनि राम्रो सम्बन्ध बनाएका छन् । उनले आवश्यक सरसल्लाह पनि उनीहरूसँग लिन्छन् । द्वन्द्वकालमा उनको गाडीले हातियार बोकेको भन्दै उनलाई पक्राउ पनि गरेर केही समय थुनामा समेत राखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्