बेलायत-बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र ९ड्रोन० उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण बिमानस्थल बन्द गरिएपछि बिमानस्थलमै अलपत्र परेका थिए ।
ग्याटविक बिमानस्थल तीन दिनसम्म बन्द भएका कारण झण्डै एक लाख २० हजार यात्रु अलपत्र परेका थिए । बुधबार बेलायतको दोस्रो सबैभन्दा व्यस्त क्याटविक बिमानस्थलको आकाशमा ड्रोनहरु देखा परेका थिए । प्रहरीले उक्त घटनालाई आपराधिक कार्य भन्दै ड्रोन उडाउने व्यक्तिको खोजी तिब्र बनाएको थियो ।
प्रहरी अधिकृत जेम्स कोलिसले ड्रोनको आपराधिक प्रयोगको अभियोगमा दुई व्यक्तिलाई ससेक्स प्रहरीले पक्राउ गरेको जानकारी दिए ।
बेलायको कानुन अनुसार ड्रोनहरु बिमानहरुको नजिक वा बिमानस्थलको एक किलोमिटरभित्र वा ४०० फिटभन्दा माथि उडाउन पाइन्न ।
कानुनको उल्लङ्घन गर्नेमाथि पाँच वर्षसम्मको जेल सजाय हुन सक्दछ ।