१९ असार २०८३, शुक्रबार

मोरक्कोमा मारिएका स्क्यान्डिनेभिएन पर्यटकको सम्झनामा जागरण

मोरक्कोमा मारिएका स्क्यान्डिनेभिएन पर्यटकको सम्झनामा जागरण

काठमाडौं — मोरक्कोको एट्लस पहाडमा सोमवार मारिएका दुई स्क्यान्डिनेभिएन पर्यटकको सम्झनामा सयौं मोरक्कोवासीहरूले शनिवार राजधानी राबातमा जागरण राखेका छन् । 

‘माफ गर्नुस्’ लेखिएका साइनबोर्ड बोकेर उनीहरू नर्वे र डेनमार्कको दूतावासअघि जागरण राखेका हुन् । नर्वेकी २८ वर्षीया मारेन उएल्यान्ड र डेनमार्ककी २४ वर्षीया भेस्टेरागर जेस्पर्सनको हत्या भएको हो । 

तीमध्ये एकको टाउको छिनाइएको भिडियो सही भएको नर्वेली प्रहरीले शुक्रवार जनाएको छ । 

२५ देखि ३० वर्ष उमेरका चारजना आरोपितलाई पक्राउ गरिएको छ । 

उनीहरूले गत साता एउटा भिडियोमा आफूहरू इस्लामिक स्टेट आतंकवादी समूहमा आबद्ध रहेको बताएको प्रहरीको भनाइ छ । सिरियामा भएका घटनाको बदला लिनका लागि यी हत्याहरू गरिएको उनीहरू बताउँछन् । 

आतंकवादीहरूसँग सम्बन्ध रहेको आरोपमा बिहीवार र शुक्रवार थप नौजनालाई पक्राउ गरिएको मोरक्कोका अधिकारीहरूले बताए ।

राबातमा एक मिनेटको मौनधारण गरिएको थियो र समारोहमा डेनमार्क र नर्वेका कूटनीतिज्ञहरू उपस्थित थिए । 

सयौं अन्य मानिसले दक्षिणी गाउँ इमलिलमा जागरण राखे । त्यहीँनजिक महिलाका शरीर भेटिएको थियो । माराकेश शहरमा पनि फूलहरू राखेर जागरण गरिएको थियो । 

जेस्पर्सन र उएल्यान्ड दुवैजना साउथईस्टर्न नर्वे विश्वविद्यालयमा आउटडोर गतिविधिहरूको अध्ययन गरिरहेका थिए । 

उनीहरू डिसेम्बर ९ मा एक महिना लामो बिदा मनाउन मोरक्को आइपुगेका थिए । उत्तर अफ्रिकाको सबभन्दा अग्लो पहाड टूकबालको फेदीमा उनीहरू पुगेका थिए । 

उनीहरूको शरीर पालमा फेला परेको थियो ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्