काठमाडौं, २३ फागुन - चलचित्र झोलामा जीवन्त अभिनय गरेर चर्चा बटुलेका कलाकार दीपक क्षेत्रीलाई चलचित्र ‘राज्जा रानी’ को समूहले सहयोग रकम जुटाएको छ ।
स्वरनलीमा मासु पलाएर आफ्नो स्वर गुमाएका कलाकार दीपक क्षेत्रीलाई उनको जन्मदिनको अवसर पारेर निर्माण समूहले सहयोग जुटाउने कार्य थालेको हो । नेपालगञ्जमा छायांकन भइरहेको चलचित्र 'राज्जा रानी' समूहले दीपक क्षेत्रीको सहयोग खाता खोल्दै सहयोग रकम प्रदान गरेका थिए ।

कार्यक्रममा कलाकार नाजिर हुसेनले २५ हजार र केकी अधिकारीले २५ हजार सहयोग गरेका थिए । त्यस्तै निर्देशक यम थापाले १० हजार, छायांकार पुरुषोत्तम प्रधानले १० हजार, सरल बुढाथोकीले ५ हजार र हरि थापाले ५ हजार सहयोग गरेर केही रकम जुटाएका थिए ।
शल्यक्रियाका लागि करिब ५ लाख खर्च लाग्ने भनिएकोमा निर्माताले जसरी भएपनि खर्च जुटाउने वाचासमेत गरेका छन् ।