
काठमाडौं — रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको वर्तमान कार्यकाल सकिएपछि पनि उनलाई पदमा राखिरहनका लागि प्रयासहरू शुरू भएका छन् ।
ब्लूमबर्गमा प्रकाशित एक रिपोर्टअनुसार, रुसको संसद्का सभामुखले संविधानमा संशोधनको सम्भावनाको उल्लेख गरेका छन् । त्यसपछि नै पुटिनको कार्यकालसम्बन्धी अनुमानलाई बल पुगेको हो ।
पुटिनको वर्तमान कार्यकाल सन् २०२४ मा अन्त्य हुनेछ र वर्तमान प्रावधान अनुसार उनी अब अर्को कार्यकालका लागि राष्ट्रपति बन्न पाउँदैनन् ।
सभामुख भ्याचेसवाल भोलोदिनले मंगलवार पुटिनसँग भेटघाट गरे । उनले संविधानमा सम्भावित संशोधनको मुद्दा उठाए ।
रुसको वर्तमान संविधान २५ वर्षपहिले बनाइएको थियो । भोलोदिनले भने, ‘त्यो अत्यन्तै कठिन समय थियो । देश टुक्राटुक्रा हुने स्थितिमा थियो । हाम्रा नागरिकले अधिकारीहरूमाथि विश्वास गर्दैनथिए । तर अहिले देश स्थिर भएको छ ।’
उनले संवैधानिक अदालतका न्यायाधीश र कानून विशेषज्ञले संविधान संशोधनका विषयमा सोच्नुपर्ने बताए ।
पुटिन यसै वर्षको मार्च महिनामा फेरि एकपटक राष्ट्रपति छानिएका थिए । त्यतिखेर उनले संविधान संशोधनको योजना नरहेको जनाएका थिए ।
तर यसै महिना उनले संविधान जड कुुरा नभएको बरू जीवन्त र विकासशील दस्तावेज भएको बताए । त्यसबाट पनि संविधान संशोधनको अनुमानलाई बल पुगेको हो ।
एजेन्सी