
काठमाडौं – सर्वोच्च अदालतले सीजी कम्यूनिकेसन प्रालि (सीजी टेलिकम) लाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अनुमति प्रदान गर्न आदेश दिएको हो ।
अदालतको आदेशपछि सीजी टेलिकमको मोबाइल सेवा सञ्चालनमा ल्याउने लामो समयदेखिको प्रतिक्षा सकिएको कम्पनीले जनाएको छ । प्राधिकरणले सीजी टेलिकमलाई कानून विपरीत मोबाइल सेवा सञ्चालनमा अवरोध गर्दै आएको थियो ।
सीजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन अनुमति दिने सरकारको निर्णयलाई समेत प्राधिकरणले लत्याउँदै आएको थियो ।
सीजी टेलिकमलाई मोबाइल सेवाका लागि फ्रिक्वेन्सी उपलब्ध गराउनुपर्ने स्वभाविक प्रक्रियालाई अवरूद्ध पार्दै प्राधिकरणले गत पुस ४ गते फ्रिक्वेन्सी लिलाम बढाबढका लागि सूचना प्रकाशित गरेपछि सीजी टेलिकम सर्वोच्च अदालत गएको थियो ।
अदालतले पुस १० गते अन्तरिम आदेश जारी गर्दै कम्पनीले सरकारबाट मोबाइल सेवा सञ्चालनको अनुमति प्राप्त गरिसकेकाले कार्यान्वयनमा कुनै बाधा अवरोध नगर्नू भन्ने आदेश दिएको छ ।
आदेशमा भनिएको छ, ‘निवेदक (सीजी टेलिकम)लाई आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको देखिँदा अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यक पर्ने कुनै पनि कार्य गर्न नरोक्नू, रोक्न नलगाउनू तथा निजलाई कुनै बाधा अवरोध नगर्नू, नगराउनू ।’
सर्वोच्चले भनेको छ, ‘अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यक पर्ने खरिद, जडान तथा सो सम्बन्धमा आवश्यक पर्ने थप लगानीका लागि निवेदक (सीजी टेलिकम) लाई आवश्यकता अनुसार अनुमति दिनू दिलाउनू ।’
‘आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र सञ्चालनमा ल्याउन आवश्यक पर्ने अन्य सेवा प्रदायकसरह समान हक स्थापित गर्न समेत आवश्यक फ्रिक्वेन्सी निवेदक (सीजी टेलिकम) लाई वितरण गर्न कानून बमोजिम जे–जे कत्र्यव्य पूरा गर्नुपर्ने हो गर्नु गराउनू । निवेदकले प्राप्त गरिसकेको फ्रिक्वेन्सी प्रयोग गर्न कुनै अवरोध नगर्नू तथा अन्य सेवा प्रदायक सरह व्यवहार गर्नु’ भन्ने आदेश पनि सर्वोच्च अदालतले दिएको छ ।


सर्वोच्चले फ्रिक्वेन्सी लिलाम बढाबढ गर्ने प्राधिकरणको सूचना कार्यान्वयन नगर्न पनि आदेश गरेको छ । अदालतको यो आदेशपछि सीजी टेलिकमले मोबाइल सेवा सञ्चालनका लागि द्रूतगतिमा काम अगाडि बढाउने बताएको छ ।
‘हामी मोबाइल सेवा सञ्चालनका लागि तयारी अवस्थामा छौं । सर्वोच्च अदालतबाट आदेश आइसकेकाले मोबाइल सेवा सञ्चालनका लागि द्रूत गतिमा काम अगाडि बढाउँछौं,’ चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले भने, ‘अदालतको आदेशलाई हामी उच्च सम्मान गर्छौं र सम्बन्धित निकायहरूले पनि आदेशलाई सम्मान गर्दै स्वस्थ प्रतिस्पर्धी वातावरणमा सीजी मोबाइल सेवा सञ्चालनका लागि आ–आफ्नो कर्तव्य पूरा गर्नेछन् भन्ने हाम्रो पूर्ण विश्वास छ ।’
मन्त्रिपरिषद्को २०७४ जेठ १५ गतेको बैठकले सीजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन अनुमति दिने निर्णय गरेको थियो । त्यतिबेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए ।
मन्त्रिपरिषद्को निर्णयपछि सीजी टेलिकमले मोबाइल सेवा सञ्चालनका लागि द्रूत गतिमा प्राविधिक एवं वित्तीय व्यवस्थापनलाई अगाडि बढाएको थियो । तर प्राधिकरणले फ्रिक्वेन्सी प्रदान गर्ने एवं उपकरण आयात लगायतका अनुमति दिने मामिलामा अवरोध गरेका कारण सेवा सञ्चालनमा विलम्ब हुँदै आएको थियो । ‘सर्वोच्च अदालतको आदेशपछि सबै अवरोधहरू अन्त्य भएका छन् । प्राधिकरणले यी सबै पक्षमा हामीलाई सहजीकरण गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ प्रवक्ता पौडेलले भने ।
मन्त्रिपरिषद्ले सीजी टेलिकमलाई मोबाइल सेवा सञ्चालनका लागि तत्कालीन समयमा प्राधिकरणलाई बुझाउन बाँकी फ्रिक्वेन्सी र रोयल्टी समेत गरी करीब ३६ करोड रूपैयाँ २०७४ माघ मसान्तदेखि ५ बराबर किस्तामा भुक्तानी गर्नुपर्ने निर्णय दिएको थियो । निर्णयलाई पालना गर्दै सीजी टेलिकमले पहिलो किस्तास्वरूप २०७४ माघ २८ गते ८ करोड ४० लाख रूपैयाँ भुक्तान गरिसकेको छ । ‘हामी सरकारले दिएको समयतालिका अनुसार रकम बुझाउँछौं । आगामी माघ मसान्तभित्रै दोस्रो किस्ता बुझाउने तयारीमा हामी छौं,’ प्रवक्ता पौडेलले भने ।
प्राधिकरणले सीजी टेलिकमलाई प्रदान गरेको अनुमति पत्र ‘आरटीएस–इडीआर–जिरोवान’ बमोजिम कार्यसम्पन्न भई सोको प्राधिकरणले प्रमाणिकरण समेत गरिसकेको छ । यसले सीजी टेलिकम मोबाइल सेवा सञ्चालनका लागि योग्यताप्राप्त कम्पनी भएको प्रमाणित गर्छ ।
सीजी टेलिकमले अन्तर्राष्ट्रियस्तरको पछिल्लो पुस्ताको प्रविधिलाई नेपालमा भित्र्याउने प्राविधिक तयारी समेत पूरा गरिसकेको छ । सीजी मोबाइल फोरजी प्रविधिमा आधारित हुनेछ । कम्पनीले हाल नेपाली बजारमा उपलब्ध मोबाइल सेवाको गुणस्तरको तुलनामा उच्च गुणस्तरको भ्वाइस र डाटा अत्यधिक सस्तो दरमा उपलब्ध गराउने जनाएको छ । यसबाट नेपाली उपभोक्ताले प्रतिस्पर्धी बजारमा छनौटको अवसर प्राप्त गर्नेछन् भने हाल करीब एकाधिकारका कारण महंगोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
‘हामी नेपाली उपभोक्ताको हितलाई केन्द्रमा राखेर एचडी भ्वाइस क्वालिटी र द्रूतगतिको डाटा न्यूनतम मूल्यमा उपलब्ध गराउने तयारीमा छौं । सीजी मोबाइल सञ्चालनपछि नेपाली उपभोक्ताले टेलिकम क्षेत्रमा नयाँ क्रान्तिको महसुस गर्नेमा हामी विश्वस्त छौं’, प्रवक्ता पौडेलले दावी गरे ।
सीजी टेलिकमले सेवा सञ्चालनका लागि आपूर्तिकर्ताको छनौट गर्न आवश्यक कर्मचारी र परामर्शदाताको नियुक्ति गरिसकेको छ भने थप कर्मचारी र परामर्शदाताको छनौट कार्य जारी रहेको जनाएको छ ।
नेपालमा उच्च गुणस्तरको मोबाइल सेवा सञ्चालनका लागि उच्चस्तरको प्रविधि भित्र्याउन ख्यातीप्राप्त विदेशी कम्पनीसँग रणनीतिक साझेदारीको टुंगो लागिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले टेलिकम उपकरण आयात गर्न आपूर्तिकर्तासँग सम्झौता गरिसकेको, डाटा सेन्टर स्थापना र डिजास्टर रिकोभरीका लागि समेत स्थान तोकिसकेको जनाएको छ । त्यसैगरी बीटीएस टावर तथा व्याकहाउल नेटवर्क निर्माणकर्ता एवं आपूर्तिकर्तासँग सम्झौता भइसकेको र टावर निर्माणका लागि काठमाडौं, पोखरा लगायतका स्थानमा जग्गाधनीसँग लीज सम्झौता गरिसकेको छ ।
‘सन् २०१९ भित्रै सीजी टेलिकमको सेवा नेपाली उपभोक्ताले पाउनेछन् भन्नेमा हामी विश्वस्त रहेका छौं,’ प्रवक्ता पौडेलले भने ।