काठमाडौं – सरकारले पटक-पटक अनुमगन गरी सुधार ल्याउने बताउँदै आएपनि कालीमाटी फलफूल तथा तरकारी बजारमा अझै सुधार आउन सकेको छैन ।
गत जेठमा आफैं अनुगमनमा निकस्केका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले कालीमाटी तरकारी बजारमा सुधार ल्याएरै छाड्ने र सुधार गर्न नमान्ने व्यवसायीका स्टल खारेज गर्ने बताएका थिए ।
जेठ महिनापछि कालीमाटी फलफूल तथा तरकारी बजारमा आएको सुधारको बारेमा अनुमगनका लागि कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरी बिहीवार बिहानै कालीमाटी फलफूल तथा तरकारी बजारमा पुगिन् ।
तर, कालीमाटी फलफूल तथा तरकारी बजारमा खासै सुधार आएको उनले पाइनन् । अनुगमनबाट फर्किएपछि राज्यमन्त्री चौधरीले कालीमाटी बजारमा खासै सुधार नआएको बताइन् ।
पहिलेको तुलनामा केही सुधार आएपनि सुधार हुनु पर्ने कुरा अझै रहेको उनले बताइन् ।
गत जेठमा मन्त्री खनालको नेतृत्वमा आफु पनि अनुमगनमा गएको स्मरण गर्दै राज्यमन्त्री चौधरीले त्यसबेलाको तुलनामा सरसफाई तथा व्यवस्थापनमा केही सुधार आएपनि सुधार आउनु पर्ने धेरै कुरा रहेको बताइन् ।
‘पहिलोपटक अनुगमनमा आउँदा निक्कै अस्त व्यस्त र फोहोर थियो’ राज्य मन्त्री चौधरीले भनिन्, ‘अहिले त्यसमा केही कमि आएको जस्तो देखिएको छ तर यतिले मात्र पुग्दैन ।’ विकृति अन्त्य गर्न सबैलाई सहयोग गर्न आग्रह गर्दै राज्यमन्त्री चौधरीले भनिन्, ‘अर्को पटक आउँदा सुधारको नमूना देख्न पाइयोस् ।’
त्यस्तै उनले तरकारी बजारमा रहेको परीक्षण प्रयोगशाला पनि व्यवस्थित नरहेको बताइन् ।
कालीमाटी तरकारी बाजरका व्यवसायीले तरकारी तथा फलफूल बजार सानो भएको, कृषि उपज ढुवानी गर्ने सवारी साधानमा निर्वाध प्रयोगमा समस्या रहेको लगायतका गुनासा राज्यमन्त्री चौधरी समक्ष पोखे ।
बजारको आकार बढाउन पर्ने माग राख्दै व्यवसायीले बजार सुधारका लागि आफहरू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । ४५ रोपनी क्षेत्रफलमा फैलिएको कालीमाटी तरकारी बजारमा ५ सय ६३ वटा स्टल रहेका छन् ।
गत २१ जेठमा मन्त्री खनाल र राज्य मन्त्री चौधरीको अनुगमनपछि कार्वाहीका लागि सिफारिस गरिएका ९८ जना व्यवसायीलाई कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले स्पष्टीकरण सोधी ५७ जना व्यवसायीको इजाजत खारेज गरेको थियो ।
त्यसविरुद्ध २६ व्यवसायी सर्वोच्च अदालत गएका थिए । सर्वेच्च अदालतले स्टल खारेज नगर्न कृषि मन्त्रालयलाई अन्तरिम आदेश दिएसँगै खारेज गरिएका २६ स्टल पुनः स्थापित भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।