
वीरगन्ज– नेपाल सरकारले ठूला दरका भारतीय नोटमा प्रतिवन्ध लगाएपछि यस्ता नोटको तस्करी बढेको छ ।
तस्करहरुले नेपालबाट ठूला दरका भारु उठाएर भारततर्फ तस्करी गर्ने गरेको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ठूला दरका भारतीय नोटको तस्करीमा संलग्न एकजना भारतीयलाई वीरगन्जबाट पक्राउ गरेपछि नोट तस्करीको घटना सार्वजनिक भएको हो ।
विशेष सूचनाका आधारमा चेकजाँचमा खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१६ शंकाराचार्य गेट नजिकबाट २ जनालाई भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहारको चम्पारण जिल्लाअन्तर्गत गौनाहा–७ का ३० वर्षीय प्रदिप भगत छन् । उनको साथबाट भारु २ हजार दरका ४५ थान, ५ सय दरका १ सय ६१ थान र २ सय दरका २ थान गरी जम्मा १ करोड ७० लाख ९० भारतीय रुपैयाँ बराबरका नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग मध्य क्षेत्रीय कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।
नेपाल सरकारले केही दिन अगाडि मात्रै भारु २ सयसहित सोभन्दा माथिल्लो दरका सबै नोट नेपालमा प्रयोग गर्न नपाइने निर्णय गरेको थियो ।