
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीवार अपराह्न ४ बजेदेखि ७ बजेसम्म बसेको स्थायी समिति वैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे २ घन्टा मन्तव्य राखे ।
सरकारको नेतृत्वकर्ता ओलीले आफ्नो मन्तव्यको धेरै समय सरकारले गरेको कामको चर्चा र प्राथमिकताबारे खर्चिए । अध्यक्ष ओलीले केही तत्वहरु पार्टीलाई छिन्नभिन्न सक्रिय रहेको पनि भन्न भ्याए ।
पार्टी एकतालाई दिगो बनाउनुपर्नेमा जोड दिँदै स्थायी समितिमा भएको छलफलले अझ उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको उल्लेख गरेर मन्तव्य टुंग्याए ।
सचिवालय सदस्य वामदेव गौतमलगायत नेताहरुले नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग अगाडि सारेका थिए । ओलीले नियतबस कुनै निर्णय नगरिएको भन्दै आत्मालोचना नगर्ने अडान राखे ।
स्थायी समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिइसकेपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पास गर्ने प्रस्ताव पेश गरे ।
‘राजनीतिक प्रस्ताव यस्तै हुन्छन्, यसअघिका प्रस्ताव पनि पढ्नुहोस्,’ ओलीले राजनीतिक प्रतिवेदन पास गर्न प्रस्ताव राख्दै वैठकममा भने ।
ओलीले प्रतिवेदन पेश गर्नेवित्तिकै सचिवालय सदस्य वामदेव गौतमले नेतृत्वबाट कमजोरी स्वीकार गर्ने काम नभएको भन्दै यही अवस्थामा प्रतिवेदन स्वीकार गर्न नसकिने बताए । बरु आफूले फरक मत प्रस्तुत गर्ने गौतमले अडान राखे ।
गौतमले ओलीको प्रस्तावको ‘विरोध’ गरेपछि नेताहरु भीम रावल र घनश्याम भुसालले पनि नेतृत्वले कमजोरी स्वीकार गरी आत्मालोचना गर्नुपर्ने मत अगाडि सारे ।
तीनजना नेताले राजनीतिक प्रतिवेदन स्वीकार गर्न नसकिने अडान राखेपछि प्रचण्डले बिहीवारको वैठक स्थगित गरी शुक्रवार विहान पुनः बस्ने प्रस्ताव राखे । प्रचण्डको प्रस्तावपछि अध्यक्ष ओलीले पनि शुक्रवार पुनः छलफल गर्ने भनेर वैठक स्थगित गर्ने सहमति जनाए ।