२८ जेठ २०८३, बिहीबार

ओलीको जवाफ चित्त नबुझेपछि नेकपा बैठकमा वामदेव, घनश्याम र भीम रावलका यस्ता प्रतिप्रश्न

ओलीको जवाफ चित्त नबुझेपछि नेकपा बैठकमा वामदेव, घनश्याम र भीम रावलका यस्ता प्रतिप्रश्न

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनको वचाउ गरेपछि केही स्थायी समिति सदस्यहरुले प्रतिप्रश्न गरेका छन् । बिहीवार साँझ अवेरसम्म बसेको बैठकमा ओलीले सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिएका थिए । 

जवाफका क्रममा ओलीले राजनीतिक प्रतिवेदन सहित रहेको तथा सरकारका काम सन्तोषजनक रहेको बताएका थिए । भारत, चीन लगायत छिमेकीसँग सम्बन्ध सुदृढ भएको, भारत हवाइ रुट दिन र विजुली किन्न तयार भएको जस्ता विषयलाई सरकारको उपलव्धीको रुपमा सुनाएका थिए । प्रतिपक्षको काम सरकारको विरोध गर्नु भएपनि सरकारको काम ‘पर्फेक्ट’ भएको उनले दाबी गरे ।

ओलीले बोलेर सकेपछि जवाफ चित्तबुझ्दो नभएको भन्दै नेता वामदेव गौतमले राजनीतिक प्रस्ताव पारित गर्न नसकिने बताएका थिए । गौतमले प्रधानमन्त्री ओलीमा व्यक्तिवादी चरित्र हावी भएको आरोप लगाएका थिए । गौतमले आफूहरुले उठाएको विषयलाई अध्यक्षले वेवास्ता गर्न खोजेको आरोप लगाए । 

गौतम बोलेलगत्तै बोलेका रावलले एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताबारे प्रधानमन्त्रीको जवाफ माग गरेका थिए । जवाफमा ओलीले यसअघिको बैठकमै बोलिसकेको बताए ।

त्यसपछि रावलले आत्मालोचना नगर्ने हो भने भिन्न मत राख्ने बताए । रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना भारतीय जिएमआरबाट खोसेर नेपालले बनाउनु पर्नेमा फेरि उसैलाई दिन लागिएको भन्दै आपत्ति समेत जनाएका थिए । 

नेता भुसालले अध्यक्ष ओलीको जवाफ चित्तबुझ्दो नभएको तथा पार्टी पद्धतीलाई ध्वस्त गरिएको आरोप लगाए । ओलीको जवाफप्रति सदस्यहरुले प्रतिपश्न गरेपछि राजनीतिक प्रस्ताव पारित हुन सकेन । 

त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक शुक्रवार बिहान सम्मका लागि स्थगित गर्न प्रस्ताव गरेका थिए । मंसिर २९ गते शुरु भएको स्थायी समिति बैठक आज समापन गर्ने तयारी थियो । बैठक भोलि बिहान ८ बजे पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्