
काठमाडौं — रुसी अधिकारीहरूले नयाँ रणनीतिक हतियार संसारको कुनै पनि क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छेड्न सक्ने बिहीवार बताएका छन् ।
रुसका उपप्रधानमन्त्री युरी बोरिसोभले अभाँगार्ड हाइपरसोनिक ग्वाइड भेहिकल आवाजको गतिभन्दा २७ गुणा तीव्र भएकाले यसलाई बीचमै रोक्न मुश्किल रहेको बताए ।
बोरिसोभले नयाँ मिसाइल सबै प्रतिरक्षा प्रणालीलाई पंगु बनाउन सक्षम रहेको बताए । राष्ट्रपति भ्लादिमिर पुटिनको निगरानीमा अभाँगार्डको सफल परीक्षणको एक दिनपछि बोरिसोभको बयान आएको हो ।
हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षणपछि पुटिनले रुस नयाँ किसिमको रणनीतिक हतियार बनाउने देशको पहिलो देश बनेको र यसले देशको सुरक्षालाई अभेद्य बनाउने बताए ।
अमेरिकी रक्षा बलका लागि यो क्षेप्यास्त्र अभेद्य रहेको मस्कोको दाबी छ ।
पुटिनले हाइपरसोनिक प्रणालीको परीक्षण दक्षिणपश्चिम रुसमा डोम्बारोव्स्की सैन्य अड्डामा गरे ।
पुटिनले भने, ‘रुस नयाँ किसिमका रणनीतिक हतियार हासिल गर्ने विश्वको पहिलो देश हो र यसले दशकौंसम्म हाम्रो देश र हाम्रा मानिसको सुरक्षालाई सुरक्षित गरिदिन्छ । यो वास्तवमै अभेद्य छ ।’
एजेन्सी