काठमाडौं, २४ फागुन — उत्तर कोरियाले आफ्नो देशको सीमाभित्र रहेका मलेसियालीहरूलाई बाहिर जान प्रतिबन्ध लगाएको छ । मलेसियामा किम जोङ–नामको हत्या भएपछि उठेको कूटनीतिक विवादको परिणामस्वरूप उत्तर कोरियाले यस्तो कदम उठाएको हो ।

यसको बदलामा मलेसियाले उत्तर कोरियाली राजदूतावासका कर्मचारीहरूलाई देश छोड्न प्रतिबन्ध लगाएको छ । यसो गर्नु आवश्यक रहेको उसको तर्क छ ।
उत्तर कोरियाले किमको मृत्युका सम्बन्धमा मलेसियाले गरेको अनुसन्धानमाथि आपत्ति उठाएको सन्दर्भमा यस्ता कारवाही प्रतिकारवाही भएका हुन् ।
मलेसियाले उत्तर कोरियाली सरकारलाई आक्रमणका लागि जिम्मेवार भनी सिधै आरोप नलगाएको भएपनि प्योङयाङ नै यो घटनामा संलग्न रहेको व्यापक आशंका छ ।
उत्तर कोरियाले यसलाई क्रूद्धतापूर्वक इन्कार गरेको छ र मलेसियाले अनुसन्धानमा गडबडी गरेको अनि आफ्ना दुश्मनहरूको मतियार बनेको आरोप लगाएको छ ।
हत्या अनि शवगृहमा राखिएको किमको शरीरमाथि कसको हक लाग्ने भन्ने विषयमा भएको विवाद विगत दुई हप्तामा तीव्र गतिले बढेको छ ।
मलेसिया र उत्तर कोरियाले एकअर्काका राजदूतलाई देशनिकाला गरिसकेका छन् । मंगलवार चाहिँ उत्तर कोरियाले सुरक्षा कारण देखाउँदै आफ्नो देशभित्र रहेका मलेसियालीहरूलाई देश छोडेर जानबाट अस्थायी प्रतिबन्ध लगाएको छ ।
बीबीसीबाट