
तनहुँ–६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो ।
आयोजनाका प्रमुख बद्रीप्रसाद फुँयालले आयोजनाबाट हाल ४० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी दिए । उनले भने, “सुख्खायाम लागेसँगै नदीमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घटेको छ ।”
आयोजना प्रमुख फुँयालका अनुसार कात्तिक महिनाको दोस्रो साताबाट विद्युत् उत्पादन कम हुनथालेको हो । आयोजनामा २३–२३ मेगावाट क्षमताको तीन टर्वाइन रहे पनि ४० मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ ।
‘रन टु रिभर’ भएका कारणले नदीमा पानीको बहाव कम हुने बित्तिकै विद्युत् उत्पादन क्षमतामा कमी आउने तर जलाशययुक्त आयोजनामा भने जुनसुकै समयमा पनि समस्या नहुने उनको भनाइ थियो ।
आयोजनाबाट विद्युत् उत्पादन यथावत हुन वैशाख महिनाको अन्तिमसम्म लाग्ने जनाइएको छ । फागुन चैतमा वायुमण्डलको तापक्रम बढेर हिमाल पग्लिएपछि पानीको बहाव बढेर विद्युत् उत्पादनमा वृद्धि आउने आयोजना प्रमुख फुँयालले बबताए ।