२८ जेठ २०८३, बिहीबार

‘ज्यानमारा’ घटनाले झस्किएका सरकारी इन्जिनियर : सुरक्षाका लागि सोचेका सोच्यै

पुस १४, २०७५
‘ज्यानमारा’ घटनाले झस्किएका सरकारी इन्जिनियर : सुरक्षाका लागि सोचेका सोच्यै

काठमाडौं –यूट्युबमा मोटसाइकल दुर्घटना भएको एउटा भिडियोमा सरकारी इन्जिनियर मणिराम भुसालका आँखा अडिए । दुर्घटनामा परेको व्यक्ति भूइँमा खस्नु नपाउँदै टाउकोको सुरक्षाका लागि लगाइएको हेल्मेट फुत्केर भूइँमा खसेको उनले देखे ।

मोटरसाइकल चालक भूइँमा खस्नुभन्दा अगाडि नै हेल्मेट खसेका कारण व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको दृश्य भिडियोमा थियो । त्यो दृश्यले भुसाल नराम्ररी झस्किए ।

उनी सोच्न थाले, ‘सुरक्षाकै लागि भनेर हेल्मेट लगाएको हो । तर हेल्मेटले कामै गरेन भने हेल्मेट लगाउनुको के अर्थ ? हेल्मेट कसरी सजिलै खस्यो त ?’ उनले पत्ता लगाए, ‘टाउको र हेल्मेटको आकार मिल्दोजुल्दो नभएका कारण हेल्मेट सजिलै फुत्क्यो । यसलाई प्राविधिक तरिकाले बुझ्दा हेल्मेट गुणस्तरीय थिएन ।’

दुर्घटनामा आफैं पर्दा आउन सक्ने जोखिमझै ठानेर उनले सोच्न थाले, ‘आफू पनि बाइक चढ्ने मान्छे । तर कुनै बेला त्यस्तो अवस्था आफ्नो पनि नआउला भन्न सकिन्न ।’ सरकारी सेवामा रहेका इन्जिनियर  भुसाल आफैं मापदण्ड र गुणस्तर निर्धारण गर्ने विभागमा कार्यरत छन् ।

अनि बनाइयो गुणस्तर मापदण्ड

उनी नेपाल गुणस्तर तथा नापतौल विभागमा इलेक्ट्रिकल सम्बन्धी विभिन्न वस्तुका गुणस्तर तथा मापदण्ड बनाउने सरकारी सेवामा कार्यरत छन् । उनले सोचे, ‘सम्बन्धित निकायको सम्बन्धित पदमा आफू हुँदा आफूले हेल्मेटको गुणस्तर सम्बन्धी मापदण्ड नबनाए कसले बनाउने ?’ लगत्तै हेल्मेटको गुणस्तर बनाउने विषयमा विभागमा उनले प्रस्ताव गरे । उनको प्रस्ताव विभागले सहजै स्वीकार गर्यो ।

त्यसपछि उनकै नेतृत्वको टोलीले हेल्मेटमा ‘लेबल’ उल्लेख हुनुपर्ने, टाउकोको साइज अनुसारका विभिन्न १५ साइजमा हेल्मेट हुनुपर्ने, हेल्मेटको ‘फ्लेक्जिविलिटी’ लगायत सबै कुरा परीक्षण गरेर मात्रै हेल्मेट निर्माण गर्न सकिनेजस्ता मापदण्ड बनायो । मापदण्ड सम्बन्धी प्रस्ताव गुणस्तर विभाग र मन्त्रालयका अधिकारीसमक्ष प्रस्तुत गरियो उद्योग वाणिज्य तथा आपूीर्तमन्त्री मातृका यादवको समेत उपस्थितिमा । यसमा मन्त्रीले समेत समर्थन जनाए ।

हेल्मेटको गुणस्तर मापदण्ड सरकारले अनिवार्य गरेमा भविष्यमा हेल्मेट निर्माता कम्पनीले अनिवार्य रुपमा नेपाल गुणस्तर (एनएस) चिह्न लिनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘हामीले हेल्मटेको गुणस्तर बनाएका छौं । हेल्मटेको गुणस्तरमा टेक्निकल रेगुलेसन बन्यो भने त्यसले लाखौं नेपालीलाई फाइदा हुन्छ । हजारौं नेपालीको ज्यान बच्छ । यस्ता–यस्ता काममा आफ्नो भूमिका हुँदा बडो आनन्द लाग्छ ।’

‘ज्यानमारा’ ग्यास सिलिन्डर

गत वर्ष पुस पहिलो हप्ता वीरगञ्जको सुपर ग्यास उद्योगमा आगलागी भयो । आगलागीमा परेर २ जनाको मृत्यु भयो । ग्यास उद्योगमा भएको आगलागी घटना देशभर चर्चाको विषय बनेको थियो । औद्योगिक क्षेत्रमा हुने गरेका सुरक्षा कमजोरीबारे समेत बहस भएको थियो ।

त्यतिबेला इन्जिनियर भुसाललाई पनि घटनाले झसङ्ग बनायो । उनले आगलागी घटनाको छानबिन समितिको सदस्य भएर काम गरे । त्यसपछि उनले विभागमा प्रस्ताव राखे, ‘सर्वसाधारणको सुरक्षाको लागि परम्परागत सिलिन्डर हटाउने र सुरक्षा जोखिम कम हुने फाइबरको सिलिन्डर प्रयोगमा ल्याउने ।’

विभागले फाइबरका ग्यास सिलिन्डर प्रयोगमा ल्याउने सम्बन्धी कार्यविधि समेत बनाएको छ । तर फाइबरका ग्यास सिलिन्डरको प्रयोग खासै हुन सकेको छैन । सर्वसाधारणले फाइबरको सिलिन्डर प्रयोगमा नल्याएको उनको गुनासो छ ।

उनी भन्छन्, ‘हामीले हेल्मेट पनि सुरक्षाको लागि नभएर ट्राफिकले समात्छ भनेर लगाउने बानी छ । सिलिन्डर पनि त्यति धेरैले प्रयोगमा ल्याएको पाइँदैन । परम्परागत सिलिन्डरभन्दा केही महंगो भएपनि फाइदाजनक छ फाइबरको सिलिन्डर ।’

ग्यास सिलिन्डरको परीक्षणका लागि विभागले ल्याब बनाएको छ । भौतिक प्रयोगशाला शाखा (ल्याब) को निर्देशक हुन् इन्जिनियर भुसाल । ल्याबमा सिलिन्डर, भल्भ सबै परीक्षण गरेर मात्रै नेपाल गुणस्तर (एनएस) प्रमाण पत्र दिने गरिएको छ ।

सुपर ग्यास घटनापछि फाइवर सिलिण्डरको प्रयोगको प्रस्ताव र हेल्मेटमा निर्धारण गरिएको गुणस्तरबारे उनी भन्छन्, ‘यसरी सर्वसाधारण नेपालीको सुरक्षा जोखिमलाई कम गर्ने प्रयास मैले गरेको छुँ । मेरो लागि सन्तुष्टिको कुरा यही नै हो । मैले ठूलो काम गरे भन्ने त लाग्दैन । एउटा व्यक्ति एक्लैले कति काम गर्न सक्छ र ?’

स्वदेशमै केही गर्छु भनेर अमेरिकाबाट फर्कें

पछिल्लो समय नेपाली युवा विदेश जाने ‘क्रेज’ बढेको छ । झन् क्षमता र सीप भएका व्यक्ति त विदेशमै बस्न हुन चाहन्छन् । तर इन्जिनियर भइसकेका भुसाल ४ वर्ष अमेरिका बसेर फिर्ता आए ।
अमेरिका बसाइका क्रममा उनको राम्रै आम्दानी हुने गरेको थियो । तर आफू नेपाली भएका कारण सन्तुष्टि हुन नसकेको उनी बताउँछन् । सानैदेखि नेपालमै केही गर्नुपर्छ भन्ने सोचाइ भएका कारण समेत आफूलाई अमेरिकाबाट फर्कन मद्दत पुगेको उनी बताउँछन् ।

आफूसँगै अमेरिका पढ्न गएकाहरू उतै बसेपनि आफू भने स्वदेशमै केही गर्छु भनेर नेपाल फर्किएको उनले बताए ।

सामान्य परिवारमा जन्मेका उनले १० कक्षासम्म चितवनको मेघौली गाउँमै पढे । आईएस्सी पढ्न भने गाउँबाट केही टाढा जानु परेपनि त्यहाँ आफन्तको घरमा बसेर ट्यूसन पढाएर आफ्नो खर्च जुटाउने गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्