२३ जेठ २०८३, शनिबार

लोकमार्ग खुलाउन काम सुरु

कात्तिक २०, २०७४
लोकमार्ग खुलाउन काम सुरु
बागलुङ, २४ फागुन –सुख्खा पहिराका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ– बुर्तिवाङ खण्ड पुनःसञ्चालन गर्न काम सुरु भएको छ ।

रिघा– ७ मनेवापाटामा आइतबार बिहान गएको पहिराले रोकिएको सडक खुल्न अझै तीन दिन लाग्ने जनाइएको छ । सोमवारदेखि ‘स्काभेटर’ लगाएर पहिरो हटाउन सुरु गरिएको लोकमार्गका इन्जिनियर राजु रानाभाटले जानकारी दिए ।

दुई सय मिटर फराकिलो १ सय ५० मिटर माथिबाट खसेको पहिरो हटाउन सोमवारदेखि थप यन्त्र प्रयोग गरिने उनको भनाइ छ । “ठूलो पहिरोसँगै ठूला ठूला ढुङ्गा खसेकाले सडक सुचारु गर्न समय बढी लाग्ने भएको छ” रानाभाटले भने । सडक खुलाउने कार्यमा सोही स्थानमा निर्माणाधीन दरमखोला हाइड्रो इनर्जी लिले पनि सघाएको छ ।

पहिराले सडक लगेपछि लोकमार्ग भएर चल्ने सिधा यातायात बन्द भएको छ । बाग्लुङदेखि बुर्तिवाङ चल्ने र बुर्तिवाङबाट बाग्लुङ, काठमाडौँ लगायत क्षेत्रमा चल्ने यातायात अवरुद्ध छ । सदरमुकामसम्म आउजाउ गर्ने साना सवारी साधनले भने ग्रामीण भेगका वैकल्पिक सडक प्रयोग गरेका छन् । बस, ट्रक जस्ता ठूला सवारी साधान भने ठप्प भएको धवलागिरि अञ्चल जिप व्यवसायी समितिले जनाएको छ ।

सिधा यातायात नचलेपछि लोकमार्गमा यात्रा गर्ने सर्वसाधारणले सास्ती पाएका छन् । सडकमाथिबाट खसेको पहिराले स्थानीय दरमखोला थुनिएपछि कृत्रिम तलाउसमेत बनेको छ । तलाउ भरिएर पानी आफैं बग्न थालेपछि जोखिम कम भएको जनाइएको छ । बहाव नियमित भए पनि ताल भने यथावत् रहेको स्थानीयवासीले बताएका छन् ।

खोला किनारका बस्ती जोखिममुक्त रहेको र तालको पानी बिस्तारै घटिरहेको खर्वाङ प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए । पहिराका कारण विद्युत् खम्बा ढली उच्च विद्युत् प्रवाह हुँदा ‘करेन्ट’ लागेर रिघा– ७ की ५६ वर्षीया मनकुमारी नेपालीको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्