
काठमाडौं — अमेरिकाका अनेकौं पत्रिकाका कार्यालयमा साइबर आक्रमण हुँदा उनीहरूको प्रकाशन र वितरणमा गम्भीर असर परेको छ ।
अमेरिकी मिडियाका अनुसार, ट्रिब्युन पब्लिशिङ ग्रूपका अनेकौं प्रकाशनमा साइबर आक्रमण भएको हो । त्यसमा द लस एन्जेलस टाइम्स, शिकागो ट्रिब्युन, बाल्टिमोर सन र अन्य प्रकाशनहरू पनि परेका छन् ।
कम्पनीले शुक्रवार माल्वेयरको बारेमा थाहा भएको र त्यसले उक्त प्रिन्टिङ प्रेसबाट निस्कने अन्य अखबारलाई पनि निशाना बनाएको बताएको छ ।
एलए टाइम्सले यो आक्रमण अमेरिकाबाहिर कुनै अर्को देशबाट गरिएको जस्तो देखिएको बताए ।
वाल स्ट्रीट जर्नल र न्युयोर्क टाइम्सका वेस्ट कोस्ट संस्करणमा पनि गम्भीर असर परेको छ । उनीहरू लस एन्जेलसमा त्यही प्रिन्टिङ प्रेसबाट अखबार छाप्छन् ।
आक्रमणको जानकारी राख्ने एक व्यक्तिले नाम नबताउने शर्तमा एलए टाइम्सलाई बताए, ‘यो आक्रमणको उद्देश्य आधारभूत रूपमा सूचना चोर्नेभन्दा पनि सर्भरहरूलाई निष्क्रिय बनाउनु नै थियो ।’
ट्रिब्युन प्रकाशनकी प्रवक्ता मारिसा कोलियासले यसलाई पुष्टि गर्दै पत्रिका प्रकाशित गर्ने ब्याकअप सिस्टममा भाइरस आक्रमण भएको बताइन् ।
अमेरिकाको होमाल्यान्ड सेक्युरिटी डिपार्टमेन्टले एक बयान जारी गर्दै भन्यो, ‘हामीलाई अनेकौं पत्रिकामाथिको सम्भावित आक्रमणको सूचना प्राप्त भएको छ र हामी सरकार तथा अन्य सहयोगीको सहायताले स्थिति बुझ्ने प्रयास गरिरहेका छौं ।’
बीबीसीबाट