
विराटनगर – विराटनगरको सिमावर्ती क्षेत्रमा लागूऔषध सेवनकर्ताको बिगबिगी रहेको स्थानीयले बताएका छन् ।
डरलाग्दो अवस्थामा रहेको लागूऔषध न्यूनीकरणका लागि थप सर्तकता अपनाउन स्थानीयले मोरङ प्रहरीलाई सुझाव दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले आइतवार विराटनगर महानगरपालिका–१६ दक्षिण गेटमा आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रममा सहभागी स्थानीयले सिमावर्ती क्षेत्रमा सबैभन्दा ठूलो समस्या देखिएको बताएका हुन् । खुला सिमाना भएका कारण तस्करी र लागूऔषधको ओसारपसार हुने गरेको बताउँदै प्रहरीले थप सतर्कता अपनाउनुपर्ने सुझाव दिए ।
रानीका स्थानीय मनोज खड्काले विराटनगरभन्दा पनि सुनसरी, मोरङ र झापाका विभिन्न क्षेत्रबाट आउने युवायुवतीले लागूऔषध प्रयोगस्थलको रुपमा प्रयोग गर्ने गरेको बताए ।
महिलाले मापसेविरुद्ध मोरङ प्रहरीले चलाएको अभियान समर्थन समेत गरेका थिए । सो क्रममा मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले यसअघि मोरङ प्रहरीले चलाएको लागूऔषधविरुद्ध ३ महिने अभियानमा १ हजार ६ सय बढीलाई सचेतना दिइएको बताए ।
आगामी दिनमा पुनः दोस्रो चरणको अभियान शुरू गरिने उनले बताए । विराटनगर–१६ का वडाध्यक्ष मनोज सुब्बाले समस्याग्रस्त दक्षिणी क्षेत्रलाई लागूऔषधबाट टाढै राख्नको लागि प्रहरी र जनप्रतिनिधि मात्रले केही गर्न नसक्ने भन्दै त्यसको लागि नागरिकको भूमिका बढी प्रभावकारी हुने बताए ।
अभियान नै सञ्चालन गर्नको लागि वडा कार्यालय पनि तयार रहेकोले लागूऔषध प्रयोग र ओसारपसारलाई निरुत्साहित गर्न प्रहरी, वडा र स्थानीयसँगै मिलेर काम गर्नुपर्ने खाँचो रहेको बताए । सीमा क्षेत्र रानीबाट हरेक दिन लागूऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ पर्दै आएका छन् ।