
काठमाडौं — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनवरी ५ मा झारखण्ड राज्य जाने भएका छन् । उनले पलामूमा रहेको मन्डल बाँधसहित अन्य योजनाको शिलान्यास गर्नेछन् ।
मोदीको कार्यक्रममा हरेक कालो रंगको कुरामाथि प्रतिबन्ध लगाइएको छ । कालो रंगको पर्स पनि कार्यक्रममा लान पाइने छैन । पलामू एसपी इन्द्रजीत महथाले यस विषयमा पालमू, गढवा, लातेहार र चतराका डीसीलाई पत्र लेखेका
छन् ।
डीसीलाई पठाइएको सरकारी पत्रमा उनले सुरक्षा व्यवस्थाका कारण कोही पनि कालो पोशाक लगाएर नआऊन् भनी सुनिश्चित गर्न भनेका छन् ।
कालो शर्ट, प्यान्ट, कोट, स्वेटर, मफलर, जुत्ता, मोजा र टाइमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । कालो शल, ब्याग र पर्स समेत बोक्न प्रतिबन्ध लगाइएको छ ।
प्रधानमन्त्रीको कार्यक्रममा आउने मानिसले परिचयपत्र पनि बोक्न निर्देशन दिइएको छ । पत्रको एक प्रति पलामू र हजारीबागका प्रहरी महानिरीक्षकलाई पनि दिइएको छ ।
कालो कपडाका कारण कसैलाई समस्या नहोस् भनी पत्र पठाइएको प्रशासनको दाबी छ ।
एजेन्सी