काठमाडौं, २४ फागुन — अमेरिकाले दक्षिण कोरियामा विवादास्पद क्षेप्यास्त्र सुरक्षा प्रणाली थाड जडान गर्नेतर्फ पहिलो कदम चालेको छ ।

द टर्मिनल हाई–अल्टीच्युड एरिया डिफेन्स सिस्टम (थाड) ले उत्तर कोरियाले गर्ने आक्रमणबाट सुरक्षा दिन्छ ।
उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धलाई तोड्दै सोमवार चार ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि यो प्रणाली जडान गर्न लागेको हो ।
तर अमेरिका र दक्षिण कोरियाको यो समझदारीले चीन लगायतका देशलाई क्रुद्ध बनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता गेङ शुआङले चीन थाड जडानविरुद्ध रहेको जानकारी दिइन् ।
यसले चीनको सुरक्षामा खतरा आउने आँकलन छ ।
थाडले छोटो तथा मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रलाई उडानका दौरान मार हानेर खसाउन सक्छ ।
यसको काइनेटिक एनर्जीले प्रहार गरिएको वारहेडलाई ध्वस्त गर्न सक्छ ।
उत्तर कोरियाले गर्नसक्ने आक्रमणको प्रतिकार गर्न अमेरिकाले यसअघि गुआम र हवाईमा पनि थाड लगाएको थियो ।
बीबीसीबाट